जन्मदिनमा स्वास्थ्यचौकीलाई स्ट्रेचर सहयोग

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

अछामका एक युवाले आफ्नै गाउँको स्वास्थ्यचौकीलाई स्ट्रेचर सहयोग गर्दै जन्मदिन मनाएका छन्। २९औँ जन्मोत्सवको अवसरमा ढकारी– ६ का तपेन्द्रबहादुर बुढाले ढुंगाचाल्ना स्वास्थ्यचौकीलाई स्ट्रेचर उपलब्ध गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी ढकारी गाउँ कमिटीका सचिवसमेत रहेका बुढाले सुरक्षित, सहज र समयमै बिरामीले उपचार पाउन सकून् भन्ने उद्देश्यले स्वास्थ्यचौकीका निमित्त प्रमुख खेमराज थापामार्फत पाँचवटा स्ट्रेचर हस्तान्तरण गरेका हुन्।

बुढाले विशेषगरी अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई प्राथमिकता दिँदै स्ट्रेचर प्रयोग गर्न आग्रह गरेका छन्। ढुंगाचाल्नामा आयोजित एक कार्यक्रममा उनले जन्मदिनको अवसरमा फजुल खर्च गर्ने परम्परा रहेको भन्दै त्यसलाई त्यागेर सामाजिक रूपान्तरणका कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे।

स्ट्रेचर हस्तान्तरण कार्यक्रममा वडा नम्बर ६ का वडासदस्य जनकबहादुर कामी, नेपाल कम्युनिस्ट पार्टीका प्रदेश कमिटी सदस्य मानबहादुर बुढा, सचिवालय सदस्य देवेन्द्रबहादुर बुढा, गाउँ कमिटी अध्यक्ष पूर्णबहादुर विक र ढुंगाचाल्ना प्रहरी चौकीका इन्चार्ज पदम कार्कीलगायतले यो कार्यबाट सबैले सिक्नुपर्ने बताएका थिए।

उनीहरूले यस्ता गतिविधिले समाजमा सकारात्मक भावनाको विकास हुने उल्लेख गरेका छन्।

सुझावित समाचार