सप्तरीको बलान बिहुल गाउँपालिका– ५, रामनगर कोदरकट्टीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजानजिक नेपाल प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ।
स्थानीय स्रोतका अनुसार सीमास्तम्भ नम्बर २४३ नजिक तस्करी गतिविधिबारे सूचना पाएपछि पुगेको रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि तस्कर समूहले हातपात गरेको हो। घटनामा प्रहरी चौकीका इन्चार्ज असइ रामकुमार यादवमाथि कुटपिट भएको बताइएको छ।
स्थानीयवासीका अनुसार तस्कर समूहले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ। घटनापछि सीमा क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले प्रहरीमाथि कुटपिट भएको पुष्टि गर्दै घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको बताए।
उनले घटनाको विषयमा थप बुझ्ने तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने काम भइरहेको जानकारी दिए। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरी स्राेतका अनुसार बिहीबार बिहान करिब ४ बजे कपडा तस्करीमा संलग्न समूहले कुटपिट गरेको हाे ।