अछामको धार्मिक पर्यटकीय क्षेत्र मालिकामा नेपाली सेनाले पदमार्ग निर्माण सुरु गरेको छ। मंगलसेन– ६ स्थित ठुलासैनतर्फबाट मालिका मन्दिरसम्म १५ सय मिटर पदमार्ग निर्माण सुरु गरिएको हो।
उक्त पदमार्ग निर्माणका लागि नेपाली सेनाको गोरख बक्स गण मंगलसेन ब्यारेकबाट दैनिक १५ जनाको टोली खटिने गरेको गणपति प्रमुख सेनानी राजु महर्जनले जानकारी दिए। उनका अनुसार जम्मा १५ सय मिटरको दूरीमा रहेको यो पदमार्गअन्तर्गत तीन सय मिटर यसअघि नै ढलान भइसकेको छ भने अहिले १२ सय मिटर बाटोमा ढुंगा छाप्ने काम भइरहेको छ।
अबको दुई साताभित्र सक्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको महर्जनले बताए। यो पदमार्गको चौडाइ करिब दुई मिटर रहेको छ। जसको निर्माणका लागि मंगलसेन नगरपालिकामार्फत वडा नम्बर ६ को वडा कार्यालयले आवश्यक सिमेन्ट, बालुवा उपलब्ध गराउनुका साथै ढुंगा फुटाउने कार्यमा सहयोग गर्ने गरेको छ। त्योबाहेक स्थानीयहरूले वेलाबखत श्रमदानसमेत गर्ने गरेका छन्।
यहाँ रहेको मालिका मन्दिरमा नेपाली सेनाले सोमबारे पूजा गर्दै आएको छ। जुन पूजाका क्रममा पैदल यात्रा गर्दा बाटोको असहजता देखेपछि गत चैत २९ गतेदेखि पदमार्ग निर्माण थालिएको गणपति महर्जनले बताए। यो पदमार्ग निर्माणपछि मालिका मन्दिर दर्शन गर्न तथा वनभोज जानेहरूका लागि सहज हुनुका साथै आन्तरिक पर्यटक भित्रिने विश्वास गरिएको छ।