गत जेठ १४ गते अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित बाजुराको बुढीनन्दा नगरपालिका–१ का २५० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। प्रभावित झन्डै तीन सय परिवारमध्ये २५० परिवारलाई नगरपालिका र गैरसरकारी संस्थाले सहयोग गरेका हुन्।
वडा कार्यालयको समन्वयमा हरिकवल, साउनेगाउँ, पाटतोला, मटेला भार्तिकौश्याडीलगायत क्षेत्रका २०८ परिवारलाई पालिका तथा ४२ परिवारलाई इन्टरनेसनल नेपाल फेलोसिप (नेपाल)ले खाद्यान्न वितरण गरेका हुन्।
घर पूर्णरूपमा क्षति भएका ४२ परिवारलाई जिल्ला रेडक्रस शाखा बाजुराले त्रिपालसमेत वितरण गरेको छ। तत्कालका लागि वडा सरकारले खाद्यान्न र त्रिपाल वितरण गरेपछि प्रभावितहरुले राहत महसुस गरेका छन्।