रास्वपाको ६०९ पालिका र ४,३६३ वडामा अधिवेशन सम्पन्न

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशभर संगठन विस्तार तथा अधिवेशन प्रक्रिया अगाडि बढाएको जनाएको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार हालसम्म देशभर चार हजार ३६३ वडा, ६०९ पालिका तथा ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।

कर्णाली प्रदेशकाे डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा  अधिवेशन हुन बाँकी छ ।त्यसैगरी, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट जिल्लामा अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले स्थगन भएको रास्वपाले  जनाएको छ।

प्रदेशगत रूपमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। मधेश प्रदेशको अधिवेशन हाल स्थगित अवस्थामा छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी रहेको पार्टीले जानकारी दिएको छ।

रास्वपाले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक व्यवस्थापन, प्रतिनिधि चयन तथा संगठनात्मक तयारी अन्तिम चरणमा पुगेको पार्टीको दाबी छ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई महाधिवेशन सफल बनाउन सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

सुझावित समाचार