चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग पनि परराष्ट्रमन्त्रीको भेटवार्ता

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख (मन्त्री) लिउ हाइसिङसँगको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल सरकारका तर्फबाट एक चीन सिद्धान्तमा प्रतिबद्धता दोहोर्‍याएका छन् । परराष्ट्रमन्त्री खनाल र सिपिसी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउबिच राष्ट्रिय स्वतन्त्र पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)बिच सम्बन्ध विस्तारबारे पनि छलफल भएको छ ।

सिपिसीको अन्तर्राष्ट्रिय विभागका अनुसार परराष्ट्रमन्त्री खनालले नेपाल र चीनले सधैँ एक–अर्काको सम्मान गर्दै समानताको व्यवहार गरेको र पञ्चशीलका आधारमा मैत्रीपूर्ण सम्बन्धको विकास गरेको बताएका थिए । नेपालको विकासमा चीनले पुर्‍याएको सहयोग तथा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गरेकामा चिनियाँ पक्षप्रति परराष्ट्रमन्त्री खनालले आभार व्यक्त गरेका छन् ।

सिपिसी अन्तर्राष्ट्रिय विभागले जारी गरेको नोटअनुसार परराष्ट्रमन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढतापूर्वक प्रतिबद्ध रहेको र नेपाली भूमिलाई कुनै पनि हालतमा चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिने वचनबद्धता जनाएका छन् । ‘नेपालको नयाँ सरकार आर्थिक विकास र जनताको जीवनस्तर सुधारका लागि प्रतिबद्ध छ,’ परराष्ट्रमन्त्री खनालले लिउसँग भनेका छन् ।

यस्तै, खनालले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको विशाल विकासको उच्च प्रशंसा गरेका थिए । ‘कनेक्टिभिटी विस्तार, वैज्ञानिक एवं प्राविधिक आविष्कार, जलविद्युत्, कृषि, संस्कृति र पर्यटनजस्ता क्षेत्रहरूमा पारस्परिक रूपमा फाइदाजनक सहकार्यलाई सुदृढ बनाउन नेपाल चीनसँग मिलेर काम गर्न इच्छुक छ,’ परराष्ट्रमन्त्रीको भनाइ थियो ।

खनालले रास्वपाले सिपिसीसँग मैत्रीपूर्ण सम्बन्धलाई महत्व दिएको उल्लेख गर्दै दुई पार्टीबिच आदानप्रदान र सहकार्यलाई थप सुदृढ बनाउन, भ्रष्टाचार नियन्त्रण र सुशासनजस्ता क्षेत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवबाट सिक्न, नेपालको शासकीय क्षमता अभिवृद्धि गर्न रास्वपा इच्छुक रहेको पनि बताएका छन् ।

‘बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङसँग भेटवार्ता गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । हामीबिच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पार्टी–पार्टीबिचको आदानप्रदानलाई विस्तार गर्ने र जनता–जनताबिचको सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा फलदायी छलफल भयो,’ भेटपछि परराष्ट्रमन्त्री खनालले भने ।

चिनियाँ नेता लिउले चीन र नेपाल पहाड र नदीहरूद्वारा जोडिएका तथा पुस्तौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएका छिमेकी मुलुक भएको बताएका छन् । ‘यो सम्बन्ध फरक आकारका देशहरूबिचको समानता र सौहार्दपूर्ण सहअस्तित्वको उत्कृष्ट उदाहरण हो,’ अन्तर्राष्ट्रिय विभागद्वारा जारी नोटअनुसार लिउले भनेका छन् ।

सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्मरण गर्दै उनले भने, ‘चिनियाँ पक्ष नेपाललाई दृढतापूर्वक सहयोग गर्न, पारस्परिक रूपमा लाभदायक सहकार्यलाई सुदृढ बनाउन, जनता–जनताबिचको आदानप्रदानलाई प्रवर्द्धन गर्न र द्विपक्षीय सम्बन्धमा निरन्तर नयाँ उपलब्धिहरू हासिल गर्न इच्छुक’ रहेको उल्लेख गरेका छन् ।

उनले चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलहरूबिच लामो समयदेखि नियमित मैत्रीपूर्ण आदानप्रदान हुँदै आएकोसमेत उल्लेख गरेका छन् । ‘सिपिसी रास्वपासँग मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्न, सबै तहमा भ्रमण आदानप्रदानलाई तीव्र बनाउन, रणनीतिक सञ्चार बढाउन, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन र शासन सञ्चालनका अनुभवहरू आदानप्रदान गर्न इच्छुक छ,’ लिउले भनेका छन् ।

लिउसँगको भेटवार्ताअगाडि परराष्ट्रमन्त्री खनालले सोमबार बिहान चाइना एकेडेमी अफ साइन्स, इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्च (आइटिपिसिएएस) पदाधिकारीसँग भेटवार्ता गरेका थिए । भेटमा उक्त संस्थाले गरिरहेको अनुसन्धान तथा अन्वेषण एवं नेपाली विश्वविद्यालयहरूसँग सम्भावित सहकार्यका क्षेत्रबारे छलफल भएको त्यहाँ कार्यरत नेपाली वैज्ञानिक डा. डिबी कट्टेलले बताए । 

सुझावित समाचार