- विश्वकप फुटबल सुरु भएको बल्ल चार दिन भयो, साइबर ठगी चलेको भने महिना दिन भइसक्यो, करोडौँ गुमाएको भन्दै साइबर ब्युरोमा सयभन्दा धेरै उजुरी
विश्वकै ध्यान तान्ने फिफा विश्वकप फुटबल सुरु भएको चार दिन मात्रै भएको छ । तर, फुटबलको उत्साहमा अनलाइन जाल थापेर ठगी गर्ने धन्दा चलेको भने महिना दिन भइसक्यो । विश्वकप फुटबल निःशुल्क हेर्न पाइने प्रलोभनमा परेर सयभन्दा बढी नेपालीले साढे दुई करोडभन्दा धेरै गुमाइसकेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ठगीमा सक्रिय गिरोहले फुटबल निःशुल्क हेर्न सकिने प्रलोभनमा नेपालीलाई फसाएका छन् । अहिलेसम्म ब्युरोमा सयवटा जाहेरी परेको र दुई करोड ६८ लाख रुपैयाँ गुमाएको जाहेरीमा उल्लेख रहेको ब्युरो प्रवक्ता एसपी दिलीपकुमार गिरीले बताए ।
‘विश्वकप फुटबल सुरु भएको चार दिन मात्रै भएको छ । तर, फुटबल निःशुल्क हेर्न पाइने भन्दै प्रलोभनमा पारेर ठगी सुरु भएको एक महिना भइसकेको रहेछ,’ उनले भने, ‘यसरी ठगिएको भनेर पहिलो जाहेरी ६ जेठमै परेको थियो । हालसम्म ब्युरोमा मात्रै सयवटा जाहेरी दर्ता भएका छन्, जसमा दुई करोड ६८ लाख गुमाएको भनिएको छ । ठगीको क्रम बढ्दो छ, प्रहरी घटनाको अनुसन्धानमा जुटिसकेको छ ।’
आजभोलि विश्वकप फुटबल निःशुल्क हेर्न सकिने भन्दै मोबाइलको स्क्रिनमा एन्ड्रोयड इन्स्टलर (एपिके) नामको एप देखिन्छ । जसलाई तुरुन्दै डाउनलोड गर्न निर्देशन आउँछ । एप डाउनलोड गरेलगत्तै पर्मिसन अलो गर्न निर्देश हुन्छ । एकपटक अलो गर्दैमा पर्मिसन अप्सन रोकिँदैन । उक्त बटन स्क्रिनमा एकपछि अर्को देखा पर्दै जान्छ । निःशुल्क फुटबल हेर्न पाइने प्रलोभनमा फसिसकेकाहरू सबै पर्मिसनलाई अलो गर्दै जान्छन् । त्यतिवेलासम्म उसको मोबाइलमा रहेको बैंकिङ एप ह्याक भइसक्छ । जब बैंकको खाताबाट रकम ट्रान्सफर भएको नोटिफिकेसन मोबाइलमा बज्न थाल्छ, तब मात्रै ठगिएको भेउ पाउँछन् ।
ह्याक गरेको रकम जम्मा गर्न नेपाली नागरिककै बैंक खाता प्रयोग भएको ब्युरो प्रवक्ता एसपी गिरीले बताए । ‘मोबाइलमै निःशुल्क फुटबल देखाइदिने प्रलोभनमा विभिन्न एप्स डाउनलोड गर्न लगाउँछन् । सोही एप्स प्रयोग गरी ह्याकरले बैंकिङ एप ह्याक गर्छ र रकम अर्को खातामा ट्रान्सफर गर्छ । यो प्रयोजनमा नेपाली नागरिककै बैंक खाता प्रयोग भएको देखिन्छ । यसका लागि विभिन्न लेयर भएर रकम ट्रान्सफर भएका छन् । अन्तिममा सबै रकम नेपाली नागरिककै एउटै बैंक खातामा गएर जम्मा भएका छन्,’ उनले भने, ‘घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ, केही दिनमै नयाँ तथ्य सार्वजनिक हुनेछ ।’
विश्वकप फुटबलमा स्क्यामर र ह्याकर मात्र नभई सट्टेबाजसमेत सक्रिय रहेको सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टोली पनि सक्रिय भएका छन् । तर, हालसम्म जाहेरी भने दर्ता नभएको कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले बताए । सर्वसाधारणलाई सचेत गराउन ब्युरोले सोमबार सूचना नै सार्वजनिक गरेर यसबारे जानकारी गराएको छ ।
साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरी भन्छन्–
विश्वकप फुटबल निःशुल्क हेर्न पाइने भन्दै प्रलोभनमा पारेर ठगिएको भनेर पहिलो जाहेरी ६ जेठमै परेको थियो । हालसम्म ब्युरोमा मात्रै सयवटा जाहेरी दर्ता भएका छन्, जसमा दुई करोड ६८ लाख गुमाएको भनिएको छ । ह्याकरले बैंकिङ एप ह्याक गरेर रकम ट्रान्सफर गर्न नेपाली नागरिककै बैंक खाता प्रयोग गरेको छ । अनुसन्धान भइरहेको छ, केही दिनमै नयाँ तथ्य सार्वजनिक हुनेछ ।