अवैध शारीरिक सम्बन्धबाट गर्भधारण भएको शिशुलाई जंगलको ओडारमा छोडी ज्यान मारेको कसुरमा फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले ७ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको उमाकुण्ड गाउँपालिका–७, पोल्दिमनिवासी रामबहादुर सुनुवार रहेका छन्।
फरार प्रतिवादी सुनुवार ज्ञानमाया सुनुवारको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी वर्षा भन्ने विना सुनुवारसमेत भएको ज्यानसम्बन्धी कसुर मुद्दामा फरार रहँदै आएका थिए। घटना विवरणअनुसार विना सुनुवार र रामबहादुर सुनुवारबिचको अवैध शारीरिक सम्बन्धबाट गर्भधारण भएको शिशुलाई २०७६ असार ९ गते राति जन्माएर उमाकुण्ड गाउँपालिका–७ स्थित पोल्दिम जंगलको ओडारमा फालिएको र त्यही शिशुको ज्यान गएको घटनापछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको थियो ।
उक्त घटनाको विषयमा प्रहरीले ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउने गरी जिल्ला सरकारी वकिल कार्यालयमा राय पेस गरेको थियो। प्रहरीको रायको आधामा जिल्ला सरकारी वकिल कार्यालयले सुनुवारलाई कर्तव्य ज्यान मुद्दा चलाउन रामेछाप जिल्ला अदालतमा अभियोगपत्र पेस गरेको थियो। प्रहरीको राय र वकिल कार्यालयको अभियोगपत्रका आधारमा रामेछाप जिल्ला अदालतले सुनुवारलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो।
अदालतले दोषी ठहर गरेका सुनुवार लुुकिछिपी आफ्नै गाउँमा बस्दै आएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा जेठ २७ गते उनलाई उमाकुण्ड गाउँपालिका–७ स्थित पोल्दिमवाट पक्राउ गरी रामेछाप अदालतमा शुक्रबार पेस गरेको थियो। अदालतले शुक्रबार नै सुनुवारलाई पुर्पक्षमा पठाउने आदेश दिएसँगै सुनुवारलाई कारागार कार्यालय रामेछाप पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी विशाल सिंहले जानकारी दिए।