हिमाली जिल्ला जुम्लाको स्याउ, ओखर, सिमी, आलुदेखि फापर, कोदोको पिठो आम्दानीको प्रमुख स्रोत बनेको छ । जिल्लामा उत्पादित कृषिउपज ठुला सहरमा बिक्री–वितरण हुने गरेको छ । उत्पादित कृषिउपज बिक्रीबाट गत आर्थिक वर्ष ०८१/८२ मा ६९ करोड १५ लाख ६१ हजार रुपैयाँ आम्दानी भएको कृषि विकास कार्यालय, जुम्लाले जनाएको छ । अर्गानिक हुने भएकाले जुम्लाको कृषिउपजको बजारमा उच्च माग रहेको कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए ।
कुल आम्दानीमध्ये सबैभन्दा ठुलो हिस्सा स्याउ बिक्रीबाट भएको उनले बताए । गत आवमा नौ हजार तीन सय ३१ मेट्रिकटन स्याउ बिक्री हुँदा ६६ करोड ३१ लाख रुपैयाँ आम्दानी भएको छ । स्याउपछि सिमी बिक्रीबाट राम्रो आम्दानी भएको छ । ५५ हजार आठ सय तीन किलोग्राम सिमी बिक्रीबाट एक करोड ३३ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ ।
त्यसैगरी, ९० हजार ६६ किलोग्राम आलु बिक्रीबाट ३७ लाख १७ हजार रुपैयाँ, ६ हजार एक सय ५० किलोग्राम फापरको पिठो बिक्रीबाट १५ लाख ३७ हजार रुपैयाँ तथा १६ हजार चार सय किलोग्राम कोदोको पिठो बिक्रीबाट २४ लाख ६० हजार रुपैयाँ आम्दानी भएको छ ।
त्यस्तै, एक हजार एक सय २० किलोग्राम स्याउका चाना बिक्रीबाट ११ लाख २० हजार रुपैयाँ, २५ हजार नौ सयवटा ओखरका दाना बिक्रीबाट दुई लाख ५९ हजार रुपैयाँ र दुई हजार नौ सय १३ किलोग्राम भटमास बिक्रीबाट तीन लाख ६१ हजार रुपैयाँ आम्दानी भएको छ ।
मार्सी चामल, चिनो, कागुनो र जौका परिकारको बिक्रीबाट पनि सामान्य आम्दानी भएको कार्यालयले जनाएको छ । ‘जुम्लामा उत्पादन हुने अर्गानिक कृषिउपजको बजारमा अत्यधिक माग भए पनि आपूर्ति गर्न सकिएको छैन । विशेषगरी मार्सी चामल र स्याउको माग बर्सेनि बढ्दै गएको छ । तर, उत्पादन सीमित हुँदा मागअनुसार बजारमा उपलब्ध गराउन कठिनाइ भइरहेको छ,’ उनले भने ।
उनका अनुसार सिजनमा जुम्लाको स्याउ दुई महिनाभित्रै बिक्री हुने गरेको छ । त्यस्तै, मार्सी चामलको माग देशका विभिन्न सहरमा निरन्तर बढिरहेको भए पनि पर्याप्त उत्पादन नहुँदा उपभोक्ताको आवश्यकता पूरा गर्न सकिएको छैन ।
जुम्लाको हावापानी अर्गानिक खेतीका लागि अत्यन्त उपयुक्त भएकाले उत्पादन वृद्धि, प्रशोधन, भण्डारण तथा बजारीकरणमा थप लगानी गर्न सके कृषि क्षेत्रबाट अझ ठुलो आर्थिक लाभ लिन सकिने सम्भावना रहेको उनको भनाइ छ ।
