सरकारी सेवामा ट्रेड युनियन खारेजीको पक्षमा सर्वाेच्चको आदेश
सर्वोच्च अदालतले सरकारी सेवामा कर्मचारी संगठन खारेजीको निर्णयको पक्षमा आदेश गरेको छ । संवैधानिक इजलासले शुक्रबार यस अघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेको हो । यससँगै अब सरकारी सेवामा कर्मचारी संगठन खोल्न नपाइने भएको छ ।
प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरु नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको इजलासबाट जारी आदेश बहुमतका आधारमा यस्तो आदेश आएको हो । प्रधानन्यायाधीश शर्माका साथै विनोद शर्मा र अब्दुल अजीज मुसलमानको राय एक किसिमको आएको छ भने सुवेदी र पौडेलले फरक राय व्यक्त गरेका छन् । उक्त इजलासले एमिकस क्युरीसमेत झिकाउन आदेश गरेको छ ।
बयान नसकिएपछि दीपक भट्ट र सुलभ अग्रवाल न्यायिक हिरासतमा
अहिलेसम्मकै ठुलो वित्तीय अपचलन मुद्दाका मुख्य आरोपीद्वय दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान सुरु भएको छ। बयान नसकिएपछि दुवैजनालाई अदालतले न्यायिक हिरासतमा पठाएको छ।
सम्पत्ति शुद्धीकरणको कसुरमा भट्टविरुद्ध २६ अर्ब तथा अग्रवालविरुद्ध २५ अर्ब बिगो कायम गरी मुद्दा दायर भएको हो। उनीहरू दुई महिनाभन्दा लामो समयदेखि थुनामा छन्।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार शुक्रबार भट्टको आधा मात्र बयान सकिएको छ। सुलभको सुरु नै भएको छैन । उनीहरूलाई सोमबार पेस गर्ने आदेश भएको सूचना अधिकारी हितानले बताइन्।
काभ्रेमा बस दुर्घटना हुँदा आठजनाको मृत्यु, १६ जना घाइते
बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका– २, बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनापछि बसले च्यापिएको अवस्थामा थप एकजनाको शव फेला परेको हो । यससँगै मृतक संख्या आठ पुगेको प्रहरीले जनाएको छ । मृतकमध्ये चार पुरुष र चार महिला रहेका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ ।
बा.३ख ८३९८ नम्बरको बस बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै रोशी–६, सुँगुरेतर्फ जाँदै थियो । सोही क्रममा बस बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १६ जनाको उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहेका छन् ।
समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।
अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : सोमबारदेखि प्रतिवादीका वकिलले बहस गर्ने
नक्कली भुटानी शरणार्थी मुद्दामा अब सोमबार प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने भएका छन्।शुक्रबार जाहेरवालाका तर्फबाट बहस सकिएपछि हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने गरी इजलास स्थगित भएको हो।
बुधबारदेखि सुनुवाइ सुरु भएकोमा बिहीबार सरकारी वकिलले वादीका तर्फबाट बहस गरेका थिए। शुक्रबार भने जाहेरवालाका तर्फबाट न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बहस भएको हो। जाहेरवालाहरूका तर्फबाट बहस भएपछि न्यायाधीशले अन्य कोही बाँकी रहे–नरहेको जानकारी मागेका थिए । कोही नआएपछि सोमबारबाट प्रतिवादीका तर्फबाट बहस सुरु हुने गरी इजलास आजका लागि स्थगित भएको आदेश आएको थियो ।
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
सरकारले करिब तीन दशकदेखि कार्यान्वयनमा नआएको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई आधार मानी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। साथै, देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख (लगत) राखी संरक्षण गर्ने व्यवस्था मिलाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको छ।
बाढीले बगाउँदा दुई महिलाको मृत्यु
कैलालीको गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। गोदावरी नगरपालिका– ४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो।
गोदावरी नगरपालिका– ३ स्थित गोदावरी नदीमा आएको बाढीले बगाएका दुवै महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए। धमलाको शव गोदावरी नदीस्थित आर्यघाटनजिक र साउदको शव वनदेवी मन्दिरनजिक फेला परेको उनले जानकारी दिए।
सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले सिंहदरबारस्थित एक क्याफेलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।
अनुगमनको क्रममा क्याफेमा घुन लागेको १७ केजी दाल, ओसिएको ११ केजी बदाम तथा १४ वटा फुटेको अन्डा भेटिएपछि जरिवाना गरिएको विभागले जनाएको छ। क्याफेको नाम भने गोप्य राखिएको छ।
चक्रपथमा स्मार्ट लाइट जडान (फोटोफिचर)
चक्रपथअन्तर्गत कोटेश्वर–कलंकी सडकखण्डमा स्मार्ट लाइट जडान सुरु भएको छ। निर्माण सम्पन्न भएको करिब आठ वर्षपछि सडकमा लाइट जडान गर्न थालिएको हो। शुक्रबार बालकुमारी क्षेत्रमा लाइट जडान गरिएको छ।
रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार सक्रिय, आठ सदस्यीय सहजीकरण समिति गठन
सरकारको लामो समयदेखि कार्यान्वयनमा आउन नसकेको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन २०५२’ कार्यान्वयन प्रक्रियाले गति लिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजीकरण समिति गठन गरेको हो। नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा समिति बनाइएको मन्त्रालयले जनाएको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। सोही निर्देशनपछि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरिएको हो।