साझा सहमति खोज्न संस्थापन र देउवा समूह लचक बन्दै

अनौपचारिक छलफल जारी, एक–दुई दिनभित्रै निर्णायक छलफल हुने

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

कांग्रेसमा संस्थापन र इतर समूह एकतासहित पन्ध्रौँ महाधिवेशनमा सहभागी हुन लचक बन्दै गएका छन् । इतर पक्षले राखेको अघिल्लो केन्द्रीय समितिमा रहेका सबै नेताको समायोजन र सदस्यता अद्यावधिकबाहेकका प्रस्तावमा संस्थापन पक्ष सम्बोधन गरेर जान तयार देखिएको छ । इतर पक्ष पनि महाधिवेशनमा सम्मानजनक सहभागितासहित निष्पक्षताको सुनिश्चिता देखिए एक भएर जान तयार देखिएको छ । दुवै पक्षबिच अनौपचारिक छलफल चलिरहेकाले एक–दुई दिनभित्रै सहमतिका लागि निर्णायक छलफल गर्न आपसी दबाब सिर्जना गरिरहेका छन् । 

इतर पक्षको प्रस्ताव 

  • महाधिवेशनका लागि दुवै पक्ष रहेको साझा संयन्त्र 
  • विधान संशोधनमा सहमति
  • क्रियाशील सदस्यतामा सहमति 

संस्थापन पक्षको लचकता र अडान 

  • साझा संयन्त्रका लागि लचक 
  • महाधिवेशनका तयारी समितिमा प्रतिनिधित्व गराउन तयार 
  • सदस्यता अद्यावधिकमा अडान, १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य समायोजन अस्वीकार 

इतर पक्षका तर्फबाट नेता डा. प्रकाशशरण महतले बिहीबार सञ्चारकर्मीमार्फत एकताका लागि प्रस्ताव सार्वजनिक गरेका छन् । उनले पार्टीको बृहत्तर एकताका लागि तयार रहेको भन्दै सभापति गगन थापासँग ठोस संवाद हुने अपेक्षा रहेको सुनाए । ‘हामीले भागबन्डा खोजेका होइनौँ, महाधिवेशन निष्पक्ष रूपमा हुने सुनिश्चितता मात्र खोजेका छौँ । दुवै पक्ष बसेर महधिवेशन सम्पन्न गर्न साझा संयन्त्र, विधान संशोधन र क्रियाशील सदस्यताजस्ता तीनवटा मूलभूत विषयमा समझदारी भएको अवस्थामा पन्ध्रौँ महाधिवेशन पारदर्शी र निष्पक्ष हुन्छ भन्ने सुनिश्चित हुन्छ भन्ने हाम्रो भनाइ हो,’ महतले भने, ‘धेरै साथीहरू विचलित हुनुहुन्छ, कति साथीहरू निष्क्रिय हुनुहुन्छ, विश्वास, भरोसा टुटेको अवस्था छ । त्यसैले बृहत्तर एकता जरुरी छ । तर, समय धेरै छैन । गगनजीहरूबाटै एकताको पहल जरुरी छ ।’ 

संस्थापन पक्षले पार्टीको विधान पालना गर्नेबाहेक सबै विषयमा लचकताका साथ सहमति जुटाउने कुरामा छलफलका लागि तयार भएको जनाएको छ । ‘१४औँ महाधिवेशनका सदस्यहरू समायोजन गरौँ भन्ने उहाँहरूको माग अहिलेको पार्टी विधानले पूरा गर्दैन, त्यो सम्भव छैन, तर अरू विषयमा छलफल गर्न तयार छौँ,’ प्रवक्ता देवराज चालिसेले भने, ‘साझा संयन्त्र बनाउने विषय निष्पक्षताको खोजी हो, त्यो गर्न अप्ठ्यारो छैन, सदस्यता व्यवस्थापन, अनुशासन, निर्वाचन समितिमा सबैमा उहाँहरूलाई राखेर महाधिवेशनमा जान सकिन्छ ।’

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय नथप्ने भएको छ । पछिल्लो सयम एक साता थप गरिएको म्याद बिहीबार मध्यरातिदेखि सकिएको छ । कांग्रेसमा अद्यावधिकका लागि योग्य सात लाख ८२ हजार २०९ क्रियाशील सदस्य छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलले ६ लाखभन्दा बढी सदस्यले क्रियाशील सदस्यता अद्यावधिक गरिसकेको बताएका छन् ।

सुझावित समाचार