बाजुरा बाढीको एक वर्ष : भत्किएकै घरमा अधिकांश बाढीपीडित

२१० मध्ये १७ परिवार पूर्ण विस्थापित

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण
  • राहत र पुनर्स्थापनाको पर्खाइमा वर्ष बित्न लाग्यो, तर सरकारले देखाएन सुरसार

बाजुराको हिमाली गाउँपालिका– ५ का रुगिन र नादापाटमा कबाडी खोलाको बाढीले विस्थापित र प्रभावित अधिकांश पीडित परिवार एक वर्ष पुग्न लाग्दा पनि अझै भत्किएकै घरमा छन् । २१० मध्ये १७ परिवार भने पूर्ण रूपमा विस्थापित छन् । तर, सरकारले राहत र पुनर्स्थापनाको व्यवस्था गरेको छैन ।

गत वर्ष २८ साउनको बाढीले रुगिन, नादापाटसँगै कबाडी, गोलु, बिउरी, चौडिला, रिठ्ठा र सागुचौर क्षेत्रमा क्षति गरेको थियो । बाढीपहिरोबाट १७ परिवारको घरजग्गा पूर्ण रूपमा नष्ट भएको थियो भने अन्य परिवार विस्थापित भएका थिए । तर, हालसम्म अधिकांश परिवार असुरक्षित अवस्थामा जीवनयापन गर्न बाध्य छन् । स्थानीयका अनुसार ४० परिवार अझै पनि बाढीले चिराचिरा पारेको कबाडी खोलाको किनारमा रहेका जोखिमपूर्ण घरमै बसिरहेका छन् । वर्षायाम सुरु भएसँगै उनीहरू फेरि बाढीको त्रासमा रात कटाउन बाध्य छन् ।

रुगिन बिउरीकी ललिता सार्कीले बाढीले घरजग्गा सबै बगाएपछि परिवारको बिचल्ली भएको बताइन् । ‘सातजनाको परिवार छ, न बस्ने ठाउँ छ, न खाने अन्न । श्रीमान्ले बजारमा भारी बोकेर कमाएको पैसाले जेनतेन गुजारा चलाएका छौँ,’ उनले भनिन्, ‘खोलाको फोहोर पानी पिउनुपर्दा बालबालिका बारम्बार बिरामी पर्छन् ।’ चुनाव जितेर गएका जनप्रतिनिधि र नेताहरू फर्केर नआएको भन्दै उनले निराशा व्यक्त गरिन् ।

६० वर्षीया प्रेमकला भण्डारीको पीडा झनै हृदयविदारक छ । श्रीमान्को उपचार अभावमै मृत्यु भएको केही समयपछि आएको बाढीले उनको सम्पूर्ण जायजेथा बगाएको थियो । ‘सरकारले एक वर्षभित्र घर बनाइदिने भनेको थियो, तर आजसम्म केही भएको छैन । फोहोर पानी खानुपर्दा आफैँ बिरामी छु, अस्पताल जाने पैसा पनि छैन,’ उनले गुनासो गरिन् ।

बाढीले खानेपानीका मुहान र धारा बगाएपछि कबाडीदेखि गोलुसम्मका बासिन्दा अहिले पनि खोलाको फोहोर पानी प्रयोग गर्न बाध्य छन् । यसका कारण झाडापखालालगायत स्वास्थ्य समस्या बढ्न थालेको स्थानीयको भनाइ छ । बाढीले धानखेत र अन्नबाली बगाएपछि खाद्यान्न संकटसमेत गहिरिएको छ । सिँचाइ कुलो नहुँदा बचेका जमिनसमेत बाँझै छन् ।

हिमाली गाउँपालिका– ५ का वडाध्यक्ष प्रदीप बुढथापाले घटनालगत्तै गाउँपालिका र रेडक्रसको सहयोगमा चामल, लत्ताकपडा र खानेपानीका पाइप वितरण गरिए पनि त्यो पर्याप्त नभएको बताए । उनका अनुसार पूर्ण रूपमा विस्थापित १७ परिवारका लागि आवास निर्माण तथा खानेपानी र सिँचाइ व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारसँग पटक–पटक पहल गरिए पनि हालसम्म कुनै ठोस काम अघि बढ्न सकेको छैन । ‘गर्मीमा खोलाको पानी पिउनुपर्ने बाध्यताले झाडापखालाका बिरामी देखिन थालेका छन् । बाढीपीडितको पुनर्स्थापनाका लागि प्रदेश र संघ सरकारको तत्काल ध्यान जानु आवश्यक छ,’ बुढथापाले भने ।

स्थानीयवासीले बर्खायाम सुरु भइसकेकाले थप मानवीय क्षति हुन नदिन जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण, स्वच्छ खानेपानीको व्यवस्था, स्वास्थ्य शिविर सञ्चालन तथा तटबन्ध र आवास निर्माण कार्य तत्काल अघि बढाउन माग गरेका छन् । कबाडी बजारमा ९०, चौडिलामा १०, रिठ्ठामा ३०, सागुचौरमा १०, बिउरीमा ४०, गोलीमा ३० गरी जम्मा २१० परिवार बाढीबाट विस्थापित छन् । जसमध्ये बिउरीका ४० परिवारको घरभित्र बाढी पसेकाले बस्न सक्ने अवस्था छैन । वर्षाको समय रिठ्ठा र गोलीका केही परिवार गाउँभन्दा माथि लेकको गोरुखर्कमा बस्ने गरेका छन् । बाँकी पीडित परिवार बाढीले चिराचिरा पारेको घरमै बस्न बाध्य रहेको स्थानीय मणिजंग बुढथापाले बताए ।

‎बाढीपहिरोबाट पूर्ण रूपमा विस्थापित भएकी रुगिन– ५, बिउरीकी ललिता सार्की बाढीले चिराचिरा पारेको घरमै बस्दै आएकी छिन् । दुई वर्षीया छोरी काखमा च्यापेर आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘बाढीले भएको जग्गाजमिन सबै बगाएपछि खेतीपाती पनि गर्न पाएको छैन ।’ खेतीपाती नहुँदा सासू, ससुरा, श्रीमान् र तीन छोराछोरी गरी सातजनाको परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता उनमा छ ।

दीर्घरोगकै कारण श्रीमान् गुमाएकी ६० वर्षीया प्रेमकला भण्डारीको अवस्था पनि ललिता सार्कीकै जस्तो छ । आर्थिक अभावकै कारण उनले मुटुरोगी श्रीमान् मानबहादुर भण्डारीको उपचार गर्न सकिनन् । श्रीमान् बितेको एक वर्ष नपुग्दै घरमै बाढीपहिरो पस्यो, घरजग्गा सबै बगाएर लियो । बाढीले घरजग्गा बगाएपछि तीन नाबालक छोरीहरूलाई पालनपोषण गर्न उनलाई निकै कठिनाइ भएको छ । ‘न बस्न घर छ, न खेती गर्न जमिन नै । के खाने ? बर्खा लाग्यो । तर, सरकार बेखबर छ । बाढीले भत्काएको घरमै बसिरहेका छौँ,’ उनले भनिन् । बाढीपीडितको पुनर्स्थापनाका लागि स्थानीय, प्रदेश र संघ सरकारले हालसम्म कुनै काम गर्न सकेका छैनन् । 

‎बाढीले हिमाली गाउँपालिका– ५ को कबाडी, चौडिला, गोली, बिउरीका १७ घर बगाएको थियो । ‎बाढीपीडितका लागि तत्काल गाउँपालिका र रेडक्रसलगायत केही सरकारी तथा गैरसरकारी संस्थाबाट चामल, लत्ताकपडा, खानेपानीका लागि पाइप वितरण गरिएको थियो । पूर्ण रूपमा घरजग्गा बगेका परिवारका लागि गाउँपालिकाको पहलबाट संघ र प्रदेश सरकारसँग माग गरेर पुनः घर निर्माण गर्ने भनिए पनि हालसम्म केही भएको छैन । ‎पालिकाको पहलमा सुदूरपश्चिम प्रदेश सरकारसँग सिँचाइ कुलो निर्माणका लागि माग गर्ने भनिए पनि हालसम्म काम अघि बढेको छैन । बाढीबाट विस्थापित २१० परिवार अहिले पनि खोलाको पानीमै निर्भर छन् । तर, हिमाली गाउँपालिका– ५ का वडाध्यक्ष प्रदीप बुढथापा पीडित परिवारका लागि खानेपानीको काम भइरहेको बताउँछन् । बाढीपीडितको व्यवस्थापनका लागि के–के काम हुँदै छ र भयो भन्ने विषयमा भने उनले ठोस जवाफ दिन सकेनन् ।
 

सुझावित समाचार