- पाँचपटकको विश्वकप यात्रामा लियोनल मेसीले अर्जेन्टिनालाई एक–एकपटक च्याम्पियन र उपविजेता बनाए भने रोनाल्डोले पोर्चुगललाई उपाधि दिलाउन सकेका छैनन्
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने २३औँ विश्वकप बिहीबार रातिदेखि सुरु हुँदै छ । मेक्सिकोमा उद्घाटन खेलसँगै २३औँ विश्वकप ३९ दिनसम्म चल्नेछ । विजेताको छिनोफानो १०४औँ खेलमा हुनेछ । विश्वकपमा धेरैको ध्यान अर्जेन्टिनी कप्तान लियोनल मेसी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि हुनेछ । यी दुवै खेलाडी लगातार छैटौँपटक विश्वकपमा सहभागी हुँदै छन् । उमेरका कारण यी दुवै खेलाडीको यो नै सम्भवतः अन्तिम विश्वकप हुन सक्छ । अन्तर्राष्ट्रिय मिडियाले मेसी र रोनाल्डोलाई ‘लास्ट डान्स’ भनेका छन् । आगामी चार वर्षभित्र यी दुवै खेलाडीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिँदा सन् २०३० को विश्वकप मेसी र रोनाल्डोविना हुनेछ । यसकारण फुटबल समर्थकले यस विश्वकपलाई मेसी र रोनाल्डोको लास्ट डान्स भनेका हुन् ।
रोनाल्डोले अहिलेसम्म फिफा विश्वकप उपाधि जितेका छैनन् । यसविपरीत मेसी भने समान एकपटक च्याम्पियन र उपविजेता हुन् । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनलमा पुग्दा जर्मनीबाट पराजित भएको थियो । त्यसको आठ वर्षपछि अर्जेन्टिनाले तेस्रोपटक विश्वकप जित्दा मेसी कप्तान थिए । सन् २०२२ को कतार विश्वकपमा एक किसिमले मेसीकै उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले उपाधि जितेको थियो । मेसीले विश्व फुटबलमा लगभग सबै किसिमका सम्मान र ट्रफी हात पारिसकेका छन् ।
मेसीले कीर्तिमानी रूपमा आठवटा बालेन डि’अर ट्रफी जितेका छन् । फुटबल करिअरमै मेसीको एक नम्बर प्रतिद्वन्द्वी रोनाल्डोलाई लिने गरिन्छ । रोनाल्डोले पनि मेसीलाई नै प्रतिद्वन्द्वीका रूपमा लिने गर्छन् । यद्यपि, उनीहरू अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म भिडेका छैनन् । यी दुई खेलाडीबिच एक दशकभन्दा बढी स्पेनिस ला लिगामा प्रतिस्पर्धा भएको थियो । मेसी बार्सिलोनामा रहँदा रोनाल्डो रियल म्याड्रिडमा थिए । मेसी र रोनाल्डो स्पेनिस लिगमा रहँदा विश्व फुटबलकै ध्यान त्यहीँ थियो ।
जब–जब रियल म्याड्रिड र बार्सिलोनाबिच खेल हुन्थ्यो, त्यसवेला मेसी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने कौतूहल हुन्थ्यो । अहिले यी दुवै युरोपियन भूमि छाडेर अन्य क्लबमा आबद्ध छन् । रोनाल्डोले एसियन भूमिमा साउदी प्रो लिगअन्तर्गत अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । मेसी भने अमेरिकाको इन्टर मियामीमा छन् । मेसी र रोनाल्डो फरक महादेशमा खेलिरहे पनि अहिले पनि उनीहरूकै चर्चा धेरै हुन्छ । विश्वकपमा उनीहरूको थप चर्चा नहुने कुरै भएन । त्यस पनि कीर्तिमानी रूपमा यी दुवै छैटौँपटक विश्वकप खेल्ने तयारीमा छन् ।
दुई दशकभित्र दुवै स्टार
संयोग कस्तो रह्यो भने मेसी र रोनाल्डोले डेब्यु २० वर्षअघि विश्वकपमा गरेका थिए । सन् २००६ मा जर्मनीले आयोजना गरेको विश्वकपमा तत्कालीन समयमा विश्वकपमा युवा खेलाडीका रूपमा उनीहरूले डेब्यु गरेका थिए । त्यसवेला मेसीको तुलनामा रोनाल्डोसँग अन्तर्राष्ट्रिय खेलको अनुभव थियो । उसले सन् २००४ मा घरमै आयोजना भएको युरोकप खेलेका थिए । तत्कालीन पोर्चुगलका कप्तान लुइस फिगोको नजरमा परेका रोनाल्डोले डेब्यु युरोकपमै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । त्यसयता उनले पोर्चुगल टोलीमा फर्केर हेर्नुपरेको छैन । अहिले रोनाल्डो पोर्चुगलकै कप्तान बनेका छन् । उनकै कप्तानमा पोर्चुगलले पहिलोपटक फुटबलमा ठुलो अन्तर्राष्ट्रिय उपाधिका रूपमा युरोकप २०१६ हात पारेको थियो । उनकै कप्तानीमा पोर्चुगल दुईपटक नेसन्स कप विजेता बनिसक्यो । अब रोनाल्डोको एउटै मात्र चाहना पोर्चुगललाई विश्वकप उपाधि दिलाउनु हो ।
विश्व च्याम्पियन बनिसकेका मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप तथा कोपा अमेरिका दिलाइसकेका छन् । मेसी पनि अमेरिकी भूमिमा टोलीलाई लगातार च्याम्पियन बनाउने लक्ष्यका साथ अग्रसर छन् । इतिहासमा दुई राष्ट्रले मात्र उपाधि रक्षा गरेका छन् । इटाली र ब्राजिलले यस्तो रेकर्ड बनाएका छन् । इटालीले सन् १९३४ र १९३८ विश्वकप ट्रफी जितेको थियो । ब्राजिलले सन् १९५८ र १९६२ को उपाधि रक्षा गरेको थियो ।
यसपटक मेसीसमक्ष विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने मौका छ । विश्वकप इतिहासमा जर्मनीका मिरोस्लाम क्लोजले कीर्तिमानी रूपमा १६ गोल गरेका छन् । मेसीले पाँचपटकको विश्वकप यात्रामा १३ गोल गरेका छन् । क्लोजको कीर्तिमानभन्दा उनी तीन गोलले पछि छन् । रोनाल्डोले विश्वकपमा अहिलेसम्म २२ खेलमा आठ गोल गरेका छन् । लगतार दुई दशक राष्ट्रिय टोलीबाट खेलेका यी दुवै खेलाडी वर्तमान समयकै सर्वाधिक महँगा र स्टार खेलाडीका रूपमा परिचित छन् ।
नकआउट चरणमा भिड्न सक्ने
समान पाँचपटक विश्वकप खेलेका मेसी र रोनाल्डोबिच प्रतिस्पर्धा भएको छैन । यसपटक पोर्चुगल र अर्जेन्टिनाबिच नकआउट चरणमा प्रतिस्पर्धा हुने सम्भावना छ । फिफाले पहिलोपटक ४८ राष्ट्रलाई विश्वकपमा सहभागी गराउँदा पोर्चुगल र अर्जेन्टिना आमनेसामना हुने समीकरण देखिन्छ । समीकरणअनुसार पोर्चुगल र अर्जेन्टिना अगाडि बढ्दा मेसी र रोनाल्डोबिचको भिडन्त सर्वाधिक रोमाञ्चक हुनेछ । जुन खेल ऐतिहासिक पनि बन्न सक्छ ।