हावाहुरीले विद्यालयको छाना उडाएको लामो समय बितिसक्दासमेत मर्मत नहुँदा बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य भएका छन् । हावाहुरीले कपुरकोट गाउँपालिका– ४, गाडापानीमा रहेको गायत्री आधारभूत विद्यालयको दुईकोठे र शारदा नगरपालिका– १४, मानेटामा रहेको लक्ष्मी आधारभूत विद्यालयको चारकोठे भवनको छाना हावाहुरीले उडाएपछि दुई विद्यालयका विद्यार्थी खुला आकाशमा बसेर पढ्न बाध्य भएका हुन् ।
गायत्री आधारभूत विद्यालयको शनिबार दिउँसो र शारदा नगरपालिकाको लक्ष्मी आधारभूत विद्यालयको जस्तापाता २० बैसाखमा उडाएको हो । हावाहुरीले छाना उडाउँदा विद्यालयको नियमित शैक्षिक गतिविधि अस्तव्यस्त बनेको गायत्री आधारभूत विद्यालयका प्रधानाध्यापक हस्तबहादुर बुढाले बताए । विद्यालयमा कक्षाकोठाको अभाव भएपछि कक्षा ८ का नौजना र कक्षा २ का १२ विद्यार्थीलाई चौरमा राखेर पढाउन थालिएको उनको भनाइ छ । हावाहुरीले छाना उडाएको भवनको एउटा कोठामा कक्षा ८ का विद्यार्थी अध्ययन गर्दै आइरहेका थिए भने अर्को कोठामा पुस्तकालय थियो । ‘कोठाको अभाव भएपछि विद्यार्थीलाई चौरमा राखेर पढाइरहेका छौँ । भवन मर्मतका लागि गाउँपालिकामा निवेदन दिएका छौँ । तत्काल सहयोग हुने अपेक्षा गरेका छौँ । कक्षा ८ सम्म सञ्चालित विद्यालयमा १०८ विद्यार्थी छन्,’ उनले भने ।
यस्तै, २० वैशाखको हावाहुरीले चारकोठे भवनको छाना उडाएपछि शारदा नगरपालिका– १४, मानेटामा रहेको लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने कार्य हुँदै आइरहेको छ । कक्षा १, २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रेशम गिरीले बताए । ‘हुरीले छाना उडाएको भवनमा पहिले कक्षा ४, ५ र ६ सञ्चालन हुन्थ्यो । ती विद्यार्थीलाई अन्य कोठामा राखिएको छ । कक्षा १ देखि ३ सम्मका विद्यार्थीको संख्या कम भएकाले एउटै कोठामा राखेर पढाइरहेका छौँ,’ उनले भने । हावाहुरीले विद्यालयमा पुर्याएको क्षतिको स्थलगत अनुमगन गरी तत्काल भवन पुनर्निर्माणका लागि लागत स्टिमेट तथा मुचुल्का तयारी गरी पुनर्निर्माणको काम अघि बढाइएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए ।