अमेरिकाले दोस्रोपटक विश्वकप आयोजना गर्न ३२ वर्ष प्रतीक्षा गर्यो । सन् १९९४ मा अमेरिकामा पहिलोपटक विश्वकप भएको थियो । ३२ वर्षअघि र अहिलेको विश्वकप आयोजना गर्दा अमेरिकाले धेरै परिवर्तन पाएको छ । सन् १९९४ मा अमेरिकाले पहिलोपटक विश्वकप गर्दा २४ टोली थिए । त्यसवेला ५२औँ खेलमा विजेताको छिनोफानो भएको थियो । रमाइलो पक्ष के थियो भने त्यसवेलाको फाइनलको महँगो टिकट ४७५ अमेरिकी डलर थियो ।
तीन दशकपछि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप फाइनलको टिकट १० हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ । यसपटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यसपटकको विश्वकपमा सहभागी संख्या थप हुँदा फिफाले नयाँ ढाँचामा राउन्ड अफ ३२ थप भएको छ । उपाधि जित्ने टोलीले सर्वाधिक आठ खेल खेल्नेछ ।
सन् १९९४ मा फिफाले खेल आयोजना हुने रंगशाला ६८ मिटर चौडाइ र १०५ मिटर लम्बाइको मापदण्ड बनाएको थियो । अहिले फिफाले सबै रंगशालालाई फिफाको सोही मापदण्डअनुसार हुनुपर्ने निर्देशन दिएको छ । ३२ वर्षअघि अमेरिकाले आयोजना गरेको विश्वकपमा ५२ खेलमा ३५ लाख ९० हजार दर्शकले प्रत्यक्ष रूपमा हेरेका थिए ।
यसपटक फिफाले १०४ खेल हुँदा रंगशालामा कम्तीमा ६० देखि ७० लाख दर्शक पुग्ने अनुमान गरेको छ । सन् १९९४ को विश्वकपमा अमेरिकाले नौ रंगशालामा आयोजना गरेको थियो । अहिले तीन राष्ट्रमा विश्वकप हुँदा १६ रंगशालामा खेल हुनेछन् । अमेरिकाले यसपटक सबैजसो रंगशालामा लक्जरी सुइट र प्रिमियम सिटको व्यवस्था गरेको छ ।
यसैगरी प्रत्येक हाफमा तीन मिनेटको ‘वाटर ब्रेक’ हुनेछ । जसमा प्रशिक्षकहरूले रणनीति बनाउने अवसरका रूपमा पनि प्रयोग गर्न सक्नेछन् । तीन दशकअघिको विश्वकपमा दुई खेलाडी मात्र परिवर्तन हुन्थ्यो । अहिले भने गोलरक्षकका लागि तेस्रो परिवर्तनको व्यवस्था छ ।
अहिले निर्धारित समयमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । अतिरिक्त समयमा छैटौँ परिवर्तन र टाउकोमा चोट लागेमा थप खेलाडी परिवर्तनको सुविधा पनि हुनेछ ।