परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा उल्लेख गर्नुभएको विषय दशगजा अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिएका छन्।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन अवरोध गरेपछि बुधबार परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको तर्फबाट सदनमा जवाफ दिएका हुन्।
सुस्ता तथा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्सांकन हुन बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘यी स्थानबाहेक अन्य केही स्थानमा क्रसबोर्डर अकुपेसन तथा दशगजा अतिक्रमणका समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्।’
नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएको जानकारी दिँदै मन्त्री खनालले क्रसबोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूमि उपयोग बन्ने गरेको बताए।