एमालेमा चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस, सातै प्रदेशबाट सुझाव संकलन गरिँदै

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

एमालेले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा देशैभर कार्यकर्ताबाट सुझाव लिने गरी सात प्रदेशमा अभियान चलाउने भएको छ । उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

३० जेठबाट सुरु हुने अभियान १९ असारसम्म सातवटै प्रदेशमा चल्नेछ । सुझाव संकलन अभियानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, प्रदेशअन्तर्गत जिल्लाका अगुवा पदाधिकारी सहभागी हुनेछन् । उनीहरूबाट सुझाव लिएर पार्टीको पुनर्गठनका विकल्पबारे प्रतिवेदन तयार पारी कार्यदलले केन्द्रीय सचिवालय बैठकमा राख्नेछ ।

मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले बैठकले सम्बन्धित क्षेत्रमै चुनावीको गम्भीर समीक्षा गरी पराजयको कारण पहिल्याउने गरी सुझाव लिने मोडालिटी तय गरेको बताए । ‘वडा, पालिका र जिल्ला तहमा चुनावको समीक्षा भइसकेको छ । अब सम्बन्धित प्रदेशमा जिल्ला, प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यहरू बसेर मसिनो गरी छलफल गरी पराजयको कारण पहिल्याइनेछ र पार्टीलाई कसरी अगाडि बढाउने सुझाव संकलन हुनेछ,’ उनले भने ।

कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै १९ असारसम्म देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । ‘बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्रसम्म सुझाव संकलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो,’ उनले भने ।

बैठकमा अध्यक्ष केपी ओलीले पार्टीलाई एकताबद्ध, संगठित र जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्तालाई जनतामाझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । ‘तपाईंहरूले मसिनो गरी छलफल गर्नुस्, पार्टीको विधान, नियमावलीभित्र रहेर निकास खोज्ने गरी जानुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा व्यापक छलफल, बहस र सुझाव संकलनपछि पार्टीलाई रूपान्तरित गर्दै एकताबद्ध ढंगले अगाडि बढाउनुपर्छ ।’

गत १० जेठमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा बहुसंख्यक पदाधिकारी पार्टी पुनर्गठनका पक्षमा उभिएपछि त्यसबारे अध्ययन गरी सुझाव पेस गर्न उपाध्यक्ष थापाको नेतृत्वमा कार्यदल बनेको थियो । कार्यदललाई १० असारभित्र चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्न भनिएको थियो । तर, मंगलबारको निर्णयअनुसार १९ असारसम्म सुझाव संकलन सकिएपछि मात्र प्रतिवेदन तयार हुनेछ । प्रतिवेदनलाई केन्द्रीय सचिवालयले छलफल गरेपछि केन्द्रीय कमिटी बैठकमा छलफल हुने एमालेले जनाउँदै आएको छ । कार्यदलमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिवहरू छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप ज्ञवालीसहित आठै प्रदेशका इन्चार्जहरू सदस्य छन् ।

यस्तो छ सुझाव संकलन कार्यतालिका 
एमाले बैठकले विभिन्न प्रदेश तथा संरचनागत निकायमा सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको छ । जसअनुसार ३० जेठमा बागमती, २ असारमा कोशी, ४ असारमा लुम्बिनी, ६ असारमा सुदूरपश्चिम, ८ असारमा कर्णाली, ११ असारमा गण्डकी, १३ असारमा मधेश, १६ असारमा राजधानी प्रदेश, १७ असारमा सम्पर्क समन्वय कमिटी प्रदेश, १८ असारमा जनसंगठन तथा १९ असारमा विभाग प्रमुख तथा निकायका पदाधिकारीबाट सुझाव संकलन गर्ने गरी बैठकले कार्यतालिका पास गरेको छ ।

प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीको सहभागिता रहनेछ । त्यस्तै, कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख आचार्यले बताए ।

कार्यदलको सदस्यसचिवको जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिने निर्णय पनि बैठकले गरेको छ । बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले बताए ।

पार्टी पुनर्गठनका पक्षमा दबाब सिर्जना गर्दै आएका नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले कार्यदलले आमपार्टीपंक्तिको भावनाको कदर गर्दै समय नलम्ब्याईकन छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने बताए । 

See More On

सुझावित समाचार