गृह मन्त्रालयमा फर्कने सुधन गुरुङको संकेत

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपाका सांसद सुधन गुरुङले आफू गृह मन्त्रालयमा फर्कने सम्भावना रहेको संकेत गरेका छन्। आइतबार गोरखामा रास्वपाको जिल्ला अधिवेशनमा बोल्दै आफू पुरानै जिम्मेवारीमा फर्किएमा बधाई दिन नआउन आग्रह गरे। मन्त्रालयमा फर्किएपछि दुई महिना आफूलाई काम गर्न दिन उनको आग्रह थियो। 

उनले भनेका छन्, ‘सफाइ पाइहालेको खण्डमा मेरो विचारमा फेरि त्यो जिम्मेवारीमा उहाँहरूले इच्छाउनुहुन्छ, मलाई फेरि काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनस्, सबैलाई आग्रह गर्छु, मलाई दुई महिनाजति समय दिनु, त्यति वेलासम्म फोटो खिच्ने, माला लगाउने र खादा लगाउने कार्यक्रमहरू नगरौँ। मन्त्रालय धाउने काम नगरौँ, दुई महिनाजति मलाई समय दिनुहोला। म त्यति वेलासम्म सबै कुरा स्टाब्लिस गर्दिन्छु। त्यसपछि पनि भएन भने बाबु तिमीले बोलेको भएन भन्नुहोला।’ 

बिचौलिया दीपक भट्टका कम्पनीका शंकास्पद सहकार्य भएको र कतिपय सम्पत्तिको स्रोतको विषयमा प्रश्न उठेपछि उनले गत ९ वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिएका थिए। सरकारले उनको सम्पत्तिको बारेमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा छानबिन समिति बनाएको थियो। सो समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाइसकेको छ। सो प्रतिवेदनमा गुरुङलाई दोषी नदेखाइएको स्रोत बताउँछ। सोही सूचना पाएपछि गुरुङले आफू मन्त्रालय फर्कने सम्भावना रहेको बताएका हुन्। 

उनले राजीनामा दिएयता गृह प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्दै आएका छन्। प्रधानमन्त्री शाहले यही साता सो प्रतिवेदनबारे निर्णय लिने सम्भावना छ। 
 

सुझावित समाचार