शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

भारतसँग अर्थकूटनीतिमा केन्द्रित भएर छलफल भएको छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पारदर्शी भएको बताएका छन्। कार्यवाहक राजदूतलाई समेत राखेर भारतीय पक्षसँग अर्थकूटनीतिलाई केन्द्रमा राखेर आफूले छलफल गरेको उनले बताए। 

भ्रमणबाट फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले नेपाल–भारत सम्बन्धलाई राजनीतिबाट अर्थराजनीतिमा अवलम्बन गर्ने प्रयास भएको बताए । सीमा विवादको विषयमा कूटनीतिक माध्यमबाट संवाद अघि बढिरहेको उनको भनाइ छ। यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ गर्ने लामिछानेले बताए। आफूलाई भारतमा भएको आतिथ्यता सिंगो नेपालीप्रतिकै सम्मान भएको उनको टिप्पणी छ। 

रास्वपाले ५१२ पालिका र ४,२४६ वडाको अधिवेशन सकायो

राष्ट्रिय स्वतन्त्र पार्टीले ५१२ वटा पालिकामा अधिवेशन सकेर नयाँ नेतृत्व चयन गरेको छ। त्यस्तै, चार हजार २४६ वडामा पनि अधिवेशन सकिएको छ । 

पार्टीका केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगानाका अनुसार जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन भएको थियो । त्यस्तै, ९ र १० जेठमा पालिका अधिवेशन भएको हो। सो अवधिमा सञ्चालन नभएका पालिका तथा वडामा १६ र १७ जेठमा अधिवेशन गरिएको रास्वपाले जनाएको छ। केहीमा भने तदर्थ समिति बनाइएको छ । 

गृह मन्त्रालयद्वारा १८ सहसचिवको सरुवा र पदस्थापन, १३ जिल्लाका सिडिओ फेरिए

गृह मन्त्रालयले १८ सहसचिवको सरुवा र पदस्थापन गरेको छ। १६ जनाको सरुवा तथा दुईजनाको पदस्थापन भएको हो। 

सरुवामा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। कास्की, धादिङ, सर्लाही, स्याङ्जा, उदयपुरलगायत जिल्लाका सिडिओ फेरिएका हुन्। 

सरुवामा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) फेरिएका छन्। कास्की, धादिङ, सर्लाही, स्याङजा, उदयपुर लगायत जिल्लाका सिडिओ फेरिएका हुन्। 

रास्वपाका सांसदहरू ढकाल र वैदिक सवार कार दुर्घटना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सागर ढकाल र सुशान्त वैदिक सवार कार दुर्घटना भएको छ। बागलुङबाट गुल्मीको तम्घासतर्फ आउँदै गरेको कार रेसुंगा नगरपालिका– ४, रैदीस्थित तम्घास–बुर्तिबाङ सडकखण्डमा दुर्घटना भएको हो।

वैदिकले चलाएको बा.प्र –०१–०२९ च ७३४३ नम्बरको कार शुक्रबार साँझ ५ः४० बजे आफैँ अनियन्त्रित भई सडकको डिलमा अड्किएको थियो। तीनजना सवार कार दुर्घटनामा कुनै मानवीय क्षति नभएको तथा कार घटनास्थलबाट निकाली सदरमुकाम तम्घासतर्फ ल्याइएको प्रहरीले जनाएको छ।

बिपी राजमार्गमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सवारी चलाउन पाइने

बिपी राजमार्गमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ । शुक्रबार  जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोक तथा जिल्ला सुरक्षा समिति सिन्धुलीको समन्वयात्मक बैठकले यस्ताे  निर्णय  गरेकाे हाे ।

यसअघि बिपी राजमार्गको भकुन्डेबेँसी–खुर्कोट सडकखण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म सवारीसाधन चलाउन अनुमति दिइएको थियाे । अहिले दुई घण्टा समय बढाइएकाे हाे। 

गर्मीले जनजीवन प्रभावित

एक सातायता बढेको गर्मीले तराई मधेशको जनजीवन प्रभावित भएको छ । सधैँ भिडभाड हुने वीरगन्जको मुख्य बजारमा दिउँसो आवतजावत पातलिएको छ ।

बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि सर्वसाधारणको दैनिकीमा समेत असर पर्न थालेको छ । गर्मीका कारण विद्यालयमा बिहानी कक्षा सुरु भएका छन् ।

घर बनाउने काम गर्दै आएका मोहम्मद हासिम मियाँले दिउँसो काम गर्न सकिने अवस्था नरहेको बताए ।

त्रिभुवन विमानस्थलमा ‘पिक एन्ड ड्रप’का लागि १५ मिनेट निःशुल्क पार्किङ सुविधा लागू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिन तथा पुर्याउन आउने सवारीसाधनका लागि १५ मिनेटसम्म निःशुल्क पार्किङ सुविधा लागू गरिएको छ।

विमानस्थल कार्यालयले यात्रुहरूको आवतजावतलाई थप सहज बनाउने उद्देश्यले ‘पिक एन्ड ड्रप’ सेवाअन्तर्गत पार्किङ शुल्क नलाग्ने समयसीमा विस्तार गरेको हो। नयाँ व्यवस्थाअनुसार यात्रु छोड्न वा लिन आउने सवारीसाधनले विमानस्थलपरिसरभित्र प्रवेश गरेपछि १५ मिनेटभित्र बाहिरिएमा कुनै पनि पार्किङ शुल्क तिर्नुपर्ने छैन।

मध्यरातमा युवतीको हत्या, प्रायश्चित्त गर्न बिहानै मन्दिर दर्शन

झापाको दमक नगरपालिका– १० स्थित रतुवा खोलामा १६ जेठमा मृत भेटिएकी दमक– ९ की २१ वर्षीया रमा तिवारीको शारीरिक सम्पर्कका लागि पैसामा विवाद हुँदा हत्या भएको खुलेको छ। उनको हत्यामा भारत बिहारस्थित अररिया ग्रामपञ्चायत घर भई दमक– ५  बस्ने ३३ वर्षीय राकेशकुमार पण्डितको संलग्नता रहेको खुलेको हो। प्रहरीले अनुसन्धानका क्रममा दुवैजनाबिच शारीरिक सम्पर्कका लागि सहमति भएको, तर पैसामा कुरा नमिल्दा हत्याको अवस्था आएको जनाएको हो।

तिवारीको हत्या १३ जेठमा करिब ११ बजे भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तिवारीको शव भने १६ जेठमा दमक– १० स्थित रतुवा खोलामा बोरामा पोको पारेको अवस्थामा फेला परेको थियो। तिवारीको शव सडेर दुर्गन्धित अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। तिवारीको दमक– ५ मा हत्या भएको र शव व्यवस्थापनका लागि करिब १५ किलोमिटर दक्षिणमा रहेको रतुवा खोलामा लगेको देखिएको प्रहरीले जनाएको छ।

सुन तस्करीमा मुछिएका नासुलाई जेल चलानको आदेश

सुन तस्करीमा मुछिएका विमानस्थल भन्सारका तत्कालीन नासुलाई अदालतले कारागार चलानको आदेश दिएको छ। नासु रेवन्त खड्कालाई शुक्रबारर विशेष अदालतले थुनामा पठाउन भनेको हो। 

उनलाई दुई वर्षअघि नै सिआइबीले पक्राउ गरी मुद्दा चलाएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा चलाएको हो।

चिनियाँ समूहले तस्करी गरेको सुन लुकाइएको भेप भन्सारको गोदामबाटै साटफेर गरेको घटनामा उनको प्रत्यक्ष संलग्नता देखिएको थियो। 

बजेटअघि भन्सार पास भएका इभीबारे छानबिन गर्न समिति गठन

सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ।

अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्। समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलमा पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको उनले बताइन्।

‘सवारीसाधनको संख्या ठुलो भएकाले राजस्व र भन्सारसम्बद्ध सबै कानुनी कागजातहरूको सूक्ष्म अध्ययन र प्रमाणीकरण गर्न केही समय लाग्न सक्छ। छानबिन नसकिँदासम्म धैर्य गर्न र आश्वस्त रहन हामी अनुरोध गर्दछौँ,’ उनले भनिन्। 

बजेट घोषणाको एक–दुई दिनअघि भन्सार पास गराइएको गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत दुईवटा गाडी नियन्त्रणमा लिइएको छ

सुझावित समाचार