पानीको पाइप मर्मत गर्ने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

अछाममा भिरबाट लडेर एक स्वास्थ्य अधिकृतको मृत्यु भएको छ। पानीको पाइप मर्मत गर्ने क्रममा भिरबाट लडेर घाइते भएका पञ्चदेवल विनायक नगरपालिका कार्यालयमा कार्यरत लक्ष्मीकान्त बजगाईंको मृत्यु भएको हो। 

शुक्रबार बिहान पानीको पाइप मर्मतका लागि मुहानतिर जाने क्रममा उनी करिब डेढ सय मिटर तल भिरमा खसेका थिए। पञ्चदेवल विनायक नगरपालिका– १, कुइकानिवासी उनी विनायक स्वास्थ्य चौकीनजिकैको भिरमा चिप्लिएर दुर्घनामा परेका हुन्।

गम्भीर अवस्थामा रहेका ४२ वर्षीय बजगाईंको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको पञ्चदेवल विनायक नगरपालिका– ६ का वडाध्यक्ष कमल रावलले जानकारी दिए।

रावलका अनुसार सुरुमा जिल्ला अस्पताल मंगलसेन ल्याए पनि बजगाईंको अवस्था झन् जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाेप्टरमार्फत सुर्खेत लगिएको थियो। तर, त्यहाँ पनि उनको अवस्थामा सुधार नआएपछि नेपालगन्ज लैजाने तयारी भइरहेका वेला मृत्यु भएको वडाध्यक्ष रावलले बताए।

यसैबिच, स्कारपियोसँग ठोक्किएर घाइते भएका पञ्चदेवल विनायक नगरपालिका– २ का वडाध्यक्ष कृपाबहादुर धामीको अवस्था भने खतरामुक्त छ। उनले चलाएको लु.९४प ३१३७ नम्बरको मोटरसाइकल विनायकबाट मंगलसेनतर्फ आउँदै गरेको ०२–००१ च ०२०० नम्बरको स्कारपियोसँग ठोक्किएको थियो। घाइते धामीको अवस्था सामान्य बन्दै गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। 

सुझावित समाचार