राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ । महामन्त्री धवलशमशेर राणासहित १८७ जनाले पार्टी परित्याग गरेका छन् । महामन्त्री राणासहित मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठलगायतले पार्टी छाडेका हुन् । उपत्यकामा उपलब्ध पार्टीका केही पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, सदस्य एवं कार्यकर्ताले बिहीबार सामूहिक रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनीहरूले मूल नेतृत्वको कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण संवैधानिक राजसंस्थासहितको संसदीय व्यवस्था, जनताकेन्द्रित राजनीतिका सम्भावना क्षीण हुँदै गएकाले अलग हुनुपरेको उल्लेख गरेका छन् । पार्टी छाडेको घोषणा गर्न आयोजित कार्यक्रममा महामन्त्री राणाले राप्रपालाई एजेन्डामा लैजान धेरै प्रयास गरेको, तर नेतृत्वले नसुनेपछि अलग हुने निर्णयमा पुगेको बताए । उनले अब बलियो मजबुत पार्टी बनाउने घोषणा पनि गरे । ‘धेरै परिश्रम र गाली खाएर मैले नै जोडेको, बनाएको घरबाट म अलग हुनुपरेको छ,’ उनले भने, ‘म पार्टी छाडेर अर्को घर निर्माण गर्न गइरहेको छु, जो एउटा मजबुत राष्ट्रवादी पार्टी जसमा राजासहितको प्रजातन्त्र हुनेछ ।’
‘पार्टीको वैचारिक आधार र मान्यता लत्याउँदै एकता महाधिवेशनको म्यान्डेट नजरअन्दाज गर्दै, केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको ‘न्यूनतम साझा कार्यक्रम’को साझेदार बन्यो, जो दुःखद क्षण देश र दुनियाँले भुलेको छैन,’ पार्टी परित्याग गर्दै राणा समूहले भनेको छ, ‘संवैधानिक राजसंस्था पुनर्स्थापना गर्ने लक्ष्य लिएको पार्टीको मूल नेतृत्व गणतन्त्र सुदृढीकरण गर्न किन अग्रसर भयो ? पार्टीको मूल लाइन र महाधिवेशनको निर्णयविपरीत जानुपर्ने के बाध्यता थियो ? केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समितिलगायत वैधानिक थलोमा पटकपटक प्रश्न उठ्दा सम्बन्धित पक्षबाट स्पष्टीकरण कहिले उपलब्ध भएन ।’
जुन मान्यता र उद्देश्य लिएर राप्रपाको स्थापना भएको थियो, ती सब नामेट पार्ने मनोवृत्ति यही कार्यकालमा देखिएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यिनै दुःखद परिदृश्यबिच जीवन समर्पण गरेको पार्टीबाट अलग हुने परिस्थिति बन्यो । अतः आजैको मितिबाट राप्रपासँग सम्बन्धित सबै जिम्मेवारी परित्याग गरेको हामी घोषणा गर्दछौँ ।’
विचलन, विरोधाभास एवं भनाइ र गराइबिचको अनमेल जनताबाट दण्डित हुँदै गएको, पछिल्ला निर्वाचनमा जनमत खस्किएको, ९७ प्रतिशत राप्रपाका उम्मेदवारको जमानत जफत भएको राणा पक्षले जनाएको छ । पार्टीमा अग्रजहरूको सम्मान नभएको, नवयुवाहरूको कदर नभएको, विधानको पालना हुनुपर्छ भनेर संस्थापक नेताहरू तथा कार्यकर्तापंक्तिले बारम्बार सचेत गराउँदासमेत मूल नेतृत्व सच्चिने काम नभएको राणा समूहको आरोप छ ।