कर्मचारी संयन्त्रमा तलबी बिदाको दुरुपयोग

तीन दिनभित्र विवरण बुझाउन निजामती किताबखानालाई सामान्य प्रशासन मन्त्रालयको निर्देशन

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

बिदा सुविधा दुरुपयोगको व्यापक गुनासो र आलोचनाबिच सरकारले ती कर्मचारीको बिदाबारे अध्ययन थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र कर्मचारीको बिदासम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ । किताबखानाको प्रारम्भिक विवरणअनुसार तलबी बिदामा ७३१ कर्मचारी छन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बिदाका सम्बन्धमा बिहीबार मन्त्रालयमै बैठक डाकेकी थिइन् । मन्त्रालय, आयोग, विभाग र केन्द्रीयस्तरका निकायका कर्मचारी प्रशासन महाशाखा/शाखा प्रमुखहरूलाई मन्त्रालयमा डाकेर उनले बिदासम्बन्धी विवरण माग गरेकी हुन् ।

मन्त्रीसँगको बैठकपछि बिहीबार नै निजामती किताबखानाले आफूसँग भएको कर्मचारी बिदासम्बन्धी नामनामेसीसहितको अभिलेख विवरण सबै मन्त्रालय र विभागहरूलाई पठाएको छ । किताबखानाले उक्त विवरण परीक्षण गरी सम्बन्धित कर्मचारीको अवस्था र विवरणमा छुटेसमेतको जानकारी पठाउन भनेको छ ।

मन्त्रालयले बिदामा बसेका कर्मचारी कुन प्रयोजनमा, कति समयदेखि, देश वा विदेश कहाँ रहेका छन् र कारबाही गर्नुपर्ने भए त्यसको जानकारीसमेत पठाउन निर्देशन गरेको छ । ‘कर्मचारीको बिदाको सम्बन्धमा त्यसको विस्तृत जानकारी पठाउन मन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल भने, ‘त्यहीअनुसार विभागले विवरण मन्त्रालयहरूलाई पठाउने र आफ्नोतर्फबाट गर्नुपर्ने काम गरिरहेको छ ।’

मन्त्रालय स्रोतका अनुसार हाकिमलाई रिझाएर, शक्ति र पहुँच प्रयोग गरेर विदेशमा अध्ययनका लागि मनोनयन भएर जाने बेथिति कर्मचारी प्रशासनमा छ । राजनीतिक–प्रशासनिक पहुँच पुर्‍याउन सक्ने कर्मचारीहरूले यसको अधिकतम लाभ उठाइरहेका छन् । त्यसो गर्न नसक्नेहरू सुविधाबाट वञ्चित छन् ।

निजामती सेवा ऐन र नियमावलीले कर्मचारीलाई विभिन्न प्रकारका बिदा उपभोग गर्न पाउने सुविधा दिएको छ । किताबखानाको विवरणमा तलबी, बेतलबी र असाधारण बिदामा कर्मचारी देखिन्छन् । अभिलेखअनुसार तलबी अध्ययन बिदामा रहेका कर्मचारीको संख्या ७३१ छ भने बेतलबी अध्ययन बिदामा १६७ जना छन् । यसैगरी ९५ कर्मचारी असाधारण बिदामा देखिएका छन् । यसरी हेर्दा विभिन्न बिदामा रहेका कर्मचारीको संख्या ९९३ छ ।

किताबखानाका महानिर्देशक पोखरेलले मन्त्रालय र निकायहरूले किताबखानामा पठाएको जानकारीका आधारमा बिदा जनिएको विवरण विभागले तयार गरेको बताए । उनका अनुसार सम्बन्धित मन्त्रालय वा सेवा सञ्चालन गर्ने निकायले जानकारी नपठाएको भए ती कर्मचारीको विवरण तथ्यांकमा समेटिँदैन । यसरी किताबखानाको अभिलेखमा छुटेका कर्मचारीको संख्या पनि उल्लेख्य रहेको अधिकारीहरू बताउँछन् ।

किताबखानाको विवरणअनुसार बिदामा बस्ने अधिकांश कर्मचारी अध्ययन बिदामा छन् । उनीहरू विभिन्न देशमा पुगेका छन् । तर, अध्ययन बिदामा बसेका कति कर्मचारी विदेशमा र कति स्वदेशमै छन् भन्ने स्पष्ट विवरण छैन । महानिर्देशक पोखरेलका अनुसार विभागमा भएको अभिलेखमा कर्मचारीको बिदा स्वदेशी वा विदेशी कुन अध्ययनमा हो भन्ने विवरण खुल्दैन । खासगरी, प्राविधिकतर्फका कर्मचारी ठुलो संख्यामा विदेशमा छन् ।

बिदाको सदुपयोग गरेर अध्ययन बिदामा विदेश जाने र अनुकूल भए सरकारलाई खबरै नगरी गैरकानुनी रूपमा उतै रहनेसम्मका केही घटनासमेत रहेको अधिकारीहरू बताउँछन् । फर्केर आएपछि पनि कबुलियतबमोजिमका क्षेत्रमा काम नगर्नेलगायतका गुनासासमेत छन् । तर, बिदाको दुरुपयोग गरेकालाई सरकारले कारबाही पनि गर्न सकेको छैन ।

निजामती सेवा नियमावलीको नियम ६२ को उपनियम ३ (क) मा अध्ययन बिदा लिएको कर्मचारीले प्रत्येक ६ महिनामा आफूले सम्बन्धित अध्ययन संस्थामा अध्ययन गरिरहेको प्रमाणसहितको प्रगति विवरण पदाधिकार रहेको निकाय, सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालय र निजामती किताबखानामा पठाउनुपर्ने व्यवस्था छ । तर, किताबखानामा समेत सबै विवरण नआउने अधिकारीहरू बताउँछन् ।

त्यस्तै, नियम ६१ को उपनियम १ मा तलबी अध्ययन बिदाको व्यवस्था छ । निजामती सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तिमा सम्बन्धित मन्त्रालयको स्वीकृति लिई खुला प्रतियोगिता वा अन्तरविभागीय प्रतियोगिताबाट छानिई वा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने निजामती कर्मचारीले अध्ययन अवधिभर बिदा पाउने व्यवस्था छ ।

कर्मचारीले सेवा अवधिभरमा एकैपटक वा पटकपटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउने र सरकारले आवश्यक ठानेमा अध्ययन बिदाको अवधि दुई वर्षसम्म थप गर्ने व्यवस्था पनि छ । यस्तो अध्ययन बिदा बस्दा कर्मचारीले पूरा तलब पाउँछन् ।

सोही नियमको उपनियम ५ मा बेतलबी अध्ययन बिदासम्बन्धी व्यवस्था छ । सम्बन्धित सेवा समूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा सरकारको पूर्वस्वीकृति लिई निजी प्रयासमा अध्ययन बिदा दिने व्यवस्था छ । तर, उक्त अवधिमा तलब पाइँदैन ।

यसैगरी नियमावलीको नियम ६२ मा असाधारण बिदासम्बन्धी व्यवस्था छ । यस्तो बिदा प्रक्रियाबमोजिम एकपटकमा एक वर्ष नबढाई र सेवा अवधिभर बढीमा तीन वर्ष लिन पाउने व्यवस्था छ । यसै नियममा बेतलबी बिदासम्बन्धी व्यवस्था छ । तर, यो नियम ५८ बमोजिम थप बिरामी बिदाका लागि दिने व्यवस्था छ ।

नियम ५८ को उपनियम ९ अनुसार कुनै ठुलो वा कडा रोग लागी उपचार गर्न बिरामी बिदा वा घर बिदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेस गरी निजामती कर्मचारीले पछि पाउने बिरामी बिदा र घर बिदाबाट कट्टा हुने गरी ४५ दिनसम्म थप बिरामी बिदा पेस्कीका रूपमा लिन सक्ने व्यवस्था छ । उपनियम १० मा यो बिदा पनि अपुग भई थप बिदा लिनुपरेमा एक वर्ष असाधारण बिदा लिन सक्ने व्यवस्था छ ।

अध्ययन बिदामा गएका त्रिविका तीन सय प्राध्यापक सम्पर्कविहीन

  • अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा दुई अर्बभन्दा बढी घाटा, सम्पर्कमा आएका ४४ प्राध्यापकले फिर्ता गरे ११ करोड

शिक्षामन्त्री सस्मित पोखरेल भन्छन्–सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक क्षतिसमेत पुर्‍याएको छ । छानबिन र कानुनी प्रक्रियाको परिणामस्वरूप रकम फिर्ता हुने क्रम तीव्र बनेको छ ।

एक अध्ययनले अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयमातहतका तीन सय प्राध्यापक सम्पर्कविहीन रहेको पाइएको छ । अध्ययन बिदामा बसेका प्राध्यापकहरूबारे अध्ययन गर्न त्रिविले बनाएको समितिको प्रतिवेदनअनुसार ३९८ प्राध्यापक अध्ययन बिदामा रहेकामा एक सय पाँचजना मात्र सम्पर्कमा आएका छन् । अध्ययन बिदामा बसेर त्रिभुवन विश्वविद्यालयलाई आर्थिक क्षति पुर्‍याएका प्राध्यापकहरूमध्ये केहीले तलबभत्ताबापतको रकम फिर्ता गरेका छन् । त्रिविको दबाबपछि ४४ जना प्राध्यापकले ११ करोड रकम फिर्ता गरेका छन् भने थप ६१ जना सम्पर्कमा आएका छन् । अन्य अझै सम्पर्कबाहिर रहेको समितिले जनाएको छ ।

अध्ययन बिदामा बसेका प्राध्यापकहरूले रकम फिर्ता नगरेपछि त्रिविले शिक्षक–कर्मचारीहरूको खोजबिन गर्न संयोजक डा. जीवन काफ्लेको नेतृत्वमा चारसदस्यीय समिति बनाएको थियो । सो समितिले अध्ययन गर्दा ३९८ जना प्राध्यापकले अध्ययन बिदा बसेको, तर नफर्किएको भेटिएको थियो । ‘३९८ मध्ये ४४ जनाले तिर्नुभयो, ६१ जना सम्पर्कमा हुनुहुन्छ, अन्य ठुलो संख्यामा प्राध्यापकहरू सम्पर्कमा हुनुहुन्न, कतिपय नेपालमै रहेको पनि सुनिएको छ, कतिपय विदेशमा हुनुहुन्छ,’ समितिका संयोजक डा. जीवन काफ्लेले भने, ‘सम्पर्कमा आएका जतिलाई आआफ्नो भागमा परेको रकम तिर्नुस् भनेका छौँ ।’ अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा दुई अर्ब रुपैयाँभन्दा बढी घाटा भएको छ । तर, त्रिवि सेवाको नियमअनुसार यहाँका शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउँछन् ।

ती बिदामा बसेका प्रतिप्राध्यापक तथा कर्मचारीको सबै सेवा सुविधा र तलब जोड्दा वार्षिक १० लाख १७ हजार ६३३ रुपैयाँ पाउँछन् । यसअनुसार ३९८ शिक्षक कर्मचारीले पाँच वर्षको अवधिमा दुई अर्ब रुपैयाँ तलब तथा भत्ता पाएका थिए । उनीहरूलाई नियमित रूपमा तलब र भत्तासमेत जोडेर खातामा पठाउने गरिएको थियो । तर, पाँच वर्षसम्म बिदामा बसेपछि अधिकांश प्राध्यापकहरू फर्किएनन् ।

पढ्न गएकामध्ये अधिकांश विदेश पलायन नै भएपछि त्रिविले एक वर्षदेखि विभिन्न माध्यमबाट सम्पर्क गरी रकम फिर्ता गर्न दबाब दिएको थियो । सोहीअनुसार पछिल्लो ६ महिनायता ४४ जनाबाट ११ करोड रुपैयाँ फिर्ता भएको छ । अध्ययनपछि थप दक्षता बोकेर त्रिविमा फर्किने वाचासहित अध्ययन बिदामा बसेका प्राध्यापकहरू नफर्किएका हुन् ।

उनका अनुसार बिदामा बस्दा प्राध्यापक तथा कर्मचारीहरूलाई कबुलियत गरेर बिदा दिइन्छ । बिदा बस्दा सबैले फर्किएर सेवा गर्छु भनेर लिखित हस्ताक्षर गरेका हुन्छन् । उक्त सम्झौता गर्दा अध्ययन बिदा लिएर नफर्किएमा थप दश प्रतिशत हर्जनासहित तलबभत्ता फिर्ता गर्ने भनेर हस्ताक्षर गराइएको हुन्छ । सोहीअनुसार १० प्रतिशत हर्जनासहित असुल गरिएको संयोजक डा. काफ्लले बताए ।

त्रिवि कार्यकारी परिषद्ले २५ पुस २०८१ मा बनाएको समितिले ६ महिना अध्ययन गरेर प्रतिवेदन दिएको थियो । जसअनुसार अध्ययन पूरा गरे पनि नफर्किएका १९१ जना र बिदा लिएर तोकिएको समयमा अध्ययन पूरा तथा नफर्किएका २०७ जना गरी कुल ३९८ जना छन् । सोहीअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले रकम फिर्ता गर्न त्रिविलाई निर्देशनसमेत दिएको थियो । 

कसरी पुग्यो त्रिविलाई नोक्सानी ?
बिदामा बसेका प्रतिप्राध्यापक तथा कर्मचारीको सबै सेवा सुविधा र तलब जोड्दा वार्षिक १० लाख १७ हजार ६३३ रुपैयाँ पाउँछन् । यसअनुसार ३९८ शिक्षक कर्मचारीले पाँच वर्षको अवधिमा दुई अर्ब रुपैयाँ तलब तथा भत्ता पाएका थिए । उनीहरूलाई नियमित रूपमा तलब र भत्तासमेत जोडेर खातामा पठाउने गरिएको थियो । तर, पाँच वर्षसम्म बिदामा बसेपछि अधिकांश प्राध्यापकहरू फर्किएनन् ।

पढ्न गएकामध्ये अधिकांश विदेश पलायन नै भएपछि त्रिविले एक वर्षदेखि विभिन्न माध्यमबाट सम्पर्क गरी रकम फिर्ता गर्न दबाब दिएको थियो । सोहीअनुसार पछिल्लो ६ महिनायता ४४ जनाबाट ११ करोड रुपैयाँ फिर्ता भएको छ । अध्ययनपछि थप दक्षता बोकेर त्रिविमा फर्किने वाचासहित अध्ययन बिदामा बसेका प्राध्यापकहरू नफर्किएका हुन् ।

‘३९८ मध्ये ४४ जनाले तिर्नुभयो, ६१ जना सम्पर्कमा हुनुहुन्छ, अन्य ठुलो संख्यामा प्राध्यापकहरू सम्पर्कमा हुनुहुन्न, कतिपय नेपालमै रहेको पनि सुनिएको छ, कतिपय विदेशमा हुनुहुन्छ,’ समितिका संयोजक डा. जीवन काफ्लेले भने, ‘सम्पर्कमा आएकाजतिलाई आ–आफ्नो भागमा परेको रकम तिर्नुस् भनेका छौँ ।’

सुझावित समाचार