बेलौरीका दलित विद्यार्थीलाई छात्रवृत्ति

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको एक स्थानीय सरकारले दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाले दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति  वितरण गरेको हो । 

२१ जेठ (बिहीबार) जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस ०८३ को अवसरमा नगरभरिका ६० दलित विद्यार्थीलाई नगद छात्रवृत्ति वितरण गरिएको जनाएको छ। बेलौरी नगरका प्रवक्ता हर्कबहादुर भुलले दलित समुदायका विद्यार्थीको शिक्षामा पहुँच पुर्याउने उद्देश्यका साथ अध्ययनका लागि छात्रवृत्ति वितरण गरिएको बताए । उनका अनुसार नगरस्तरीय दलित छात्रवृत्ति कार्यक्रमअर्न्तगत प्राविधिक तथा साधारण धारतर्फ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।

प्राविधिक धारतर्फका दुई विद्यार्थीलाई १५ हजारका दरले ३० हजार, विभिन्न संकायमा उच्च शिक्षातर्फ १० जनालाई १० हजारका दरले एक लाख र प्लस टु अध्ययनरत ४८ विद्यार्थीलाई चार हजारका दरले एक लाख ९२ गरेर तीन लाख २२ हजार छात्रवृत्ति वितरण गरिएको छ ।

बेलौरी नगरका मेयर पोतीलाल चौधरीले नगरका १० वटै वडाबाट आर्थिक रुपमा समेत विपन्न भएका अध्ययनशील दलित समुदायका विद्यार्थीको पठनपाठनमा टेवा पुर्याउने उद्देश्यका साथ पालिकाले ल्याएको योजनाअनुरूप छात्रवृत्ति वितरण गरिएको बताए। ‘आर्थिक, समाजिक रूपमा उत्पीडनमा परेको दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्रीदेखिका अध्ययनमा सहयोगका लागि सानै भए पनि छात्रवृत्ति कार्यक्रम ल्याएका छौँ,’ मेयर चौधरीले भने, ‘छात्रवृत्ति पाएका दलित समुदायका विद्यार्थीलाई पढाइमा ठुलो राहत हुनेछ ।’ 

विगतका वर्षहरूदेखि बेलौरी नगरपालिकाले दलित समुदायका विद्यार्थीका लागि ल्याएको उक्त कार्यक्रमले सयौँ दलित समुदायका विद्यार्थीको अध्ययनमा सुविधा पाएपछि हर्षित भएका छन् । बेलौरीका रमेश लुहारले नगरपालिकाले छुट्टै रूपमा दलित समुदायको शिक्षा सुधारमा गरेको कार्यक्रम प्रभावकारी भएको बताए। लुहारले अन्य पालिकाले समेत आर्थिक, सामाजिक रूपमा पछाडि परेको जेहेनदार विद्यार्थीका लागि यस्तै प्रवर्द्धनात्मक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । 

सुझावित समाचार