‘इरानीको अधिकार सुनिश्चितताविना अमेरिकासँग सम्झौता हुँदैन’

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले तेहरानले अमेरिकासँग इरानीहरूको अधिकार सुनिश्चित नहुने कुनै पनि सम्झौतामा सहमति नजनाउने बताएका छन् । सरकारी टेलिभिजनमा एक भिडियो वक्तव्यमा गालिबाफले इरानी वार्ताकारले ‘शत्रुको शब्द वा उसका प्रतिज्ञामा विश्वास नगर्ने’ बताए ।

तेहरान र वासिंटनले यस क्षेत्रमा युद्ध अन्त्य गर्न सन्देश आदानप्रदान गरिरहेको विवरण सार्वजनिक भइरहेका वेला उनको भनाइ आएको हो । ‘हामी इरानी जनताको अधिकार कायम राखिएको छ भनेर निश्चित नभएसम्म कुनै पनि सम्झौतालाई अनुमोदन गर्नेछैनौँ,’ गालिबाफले भने ।

उनले अगाडि थपे, ‘इरानी वार्ताकारले न त शत्रुको शब्द न उसका प्रतिज्ञामा विश्वास गर्छन् ।’ इरानी मिडियाका अनुसार इरानले आफ्नो आणविक कार्यक्रममा ठोस वार्तामा प्रवेश गर्नुअघि १२ अर्ब डलरको जम्मा सम्पत्ति फिर्ता माग गरेको बताइएको छ ।

तेहरानको समृद्ध युरेनियमको भण्डार नष्ट गरिनेछ भन्ने ट्रम्पको दाबीमा कुनै सत्यता नभएको ती सञ्चार माध्यमले जनाएका छन् । इरानले लेबनानलाई भविष्यको कुनै पनि सम्झौतामा समावेश गर्न पनि जोड दिएको छ, यद्यपि यस क्षेत्रमा लडाइँ जारी छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न इरानसँगको सम्झौतामा ‘अन्तिम निर्णय’ गर्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले शुक्रबार इरानसँग युद्धविराम विस्तार गर्ने सम्बन्धमा ‘अन्तिम निर्णय’ गर्न शुक्रबार शीर्ष सहयोगीसँग बैठक गरेका थिए, बैठक विनानिष्कर्ष सकिएको थियो ।

उनले इरानले कहिल्यै आणविक हतियार वा बम राख्न नपाउने, हर्मुजको जलमार्गलाई ‘दुवै दिशामा विनाअवरोध पुनः खोल्न र जलमार्गमा रहेका कुनै पनि खानी ‘नष्ट’ गर्न सहमत हुनुपर्ने बताएका थिए । बैठक ह्वाइटहाउसको सिचुएसन रुममा भएको थियो, जुन ठुला संकटको सामना गर्न प्रयोग गरिन्छ । अमेरिकी अधिकारीका अनुसार बिहीबार दुई देशले ट्रम्प र इरानको नेतृत्वको अनुमोदनका लागि सम्झौताको ढाँचामा सहमति जनाएका थिए, जसलाई समझदारी पत्र भनिन्छ । 

See More On

सुझावित समाचार