सोमबार १० बजेसम्मका प्रमुख १० खबर

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित

प्रतिनिधिसभाको बैठक सोमबार कार्यसूचीमै प्रवेश नगरी मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलका सांसदहरूले बैठक सुरु हुनेबित्तिकै विरोध गरेपछि सदन अवरुद्ध भएको हो।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसद् कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका थिए। तर, विपक्षी दलको विरोध जारी रहेपछि उनले दिनभरका लागि तय गरिएका सबै कार्यसूची हटाइएको घोषणा गरे।

१८ महिना पुराना मुद्दामा शून्यमा झार्न प्रधानन्यायाधीश शर्माको निर्देशन

प्रधानन्यायाधीश डा.मनोज कुमार शर्माले  १८ महिना नाघेका मुद्दा शून्यमा झार्ने गरी कार्यसम्पादन गर्न मातहतलाई निर्देशन दिएका छन्। सोमबार २१ बुँदे निर्देशन जारी गर्दै उनले सुधारलाई तिव्रता दिन भनेका हुन् । २ नम्बर बुँदामा उनले भनेका छन्,‘पुराना बक्यौता मुद्दाहरूको न्यूनीकरणका लागि भएका प्रयास र उपलव्धिहरूलाई निरन्तरता दिँदै त्यसप्रकारका मुद्दाहरूको फछ्यौटलाई विशेष प्राथमिकता र संवेदनशीलताका साथ लिई यस आर्थिक वर्षको अन्तसम्म दुई वर्ष नाघेका मुद्दाहरू र २०८३ पौष मसान्तसम्ममा अठार महिना नाघेका मुद्दाहरू शून्यमा ल्याउने गरी कार्य सम्पादन गर्नु गराउनुहोला ।’

शर्माले न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि, बक्यौता मुद्दा न्यूनीकरण, सुशासन, पारदर्शिता, प्रविधिको प्रभावकारी प्रयोग, सेवा प्रवाहमा सुधार र विकृति–विसङ्गतिप्रति शून्य सहनशीलताको नीति कार्यान्वयन समेतका लागि विशेष ध्यानाकर्षण गराएका  छन् । शर्माले मुख्य न्यायाधीश तथा मुख्य भइ काम गर्ने न्यायाधीशहरुलाई सोमबार सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने भन्दै २१ बुँदे निर्देशन दिएका हुन् । 

एक लाख धरौटीमा छुटे पूर्वसभामुख महरा

भेपको आवरणमा सुन तस्करी गर्ने चिनियााँको सामान छुटाउन सहयोग गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा एक लाख रुपैयाँ धरौटीमा छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि धरौटी माग भएको हो। 

न्यायधीशहरू सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले धरौटी माग्ने आदेश दिएको हो। 

यस प्रकरणमा यसअघि प्रहरीले पनि महराविरुद्ध छुट्टै मुद्दा दायर गरेको थियो। 

प्रहरीका ३३ एसएसपीको सरुवा, काठमाडौं परिसरमा दिलीप घिमिरे (सरुवा सूचीसहित)

गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा गरेको छ। सरुवामा काठमाडौं परिसरमा एसएसपी दिलीप घिमिरेलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, ललितपुर परिसरमा तुलबहादुर कार्की तथा उपत्यका ट्राफिकमा शान्तिराज कोइरालाको सरुवा भएको छ। 

त्यस्तै, मानव बेचबिखन ब्युरोमा नकुल पोखरेल, लागुऔषध नियन्त्रण ब्युरोमा सुवासचन्द्र बोहरा, दयानिधि ज्ञवालीको बुटवल तालिम केन्द्र तथा शिव श्रेष्ठको विराटनगर तालिम केन्द्रमा सरुवा भएको छ। काठमाडौं परिसरका रमेश थापा र ललितपुर परिसरका होबिन्द्र बोगटीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ। 

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेलने यो सरुवा गरेका हुन्। 

साफ महिला च्याम्पियनसिपः नेपाली टिमसँग जोडिइन् प्रीति राई

मिडफिल्डर प्रीति राई नेपाली राष्ट्रिय फुटबल टोलीसँग जोडिएकी छिन्। नेपाली टिम यति वेला साफ महिला च्याम्पियनसिप खेल्न भारतको गोवामा छ। नेपाल समूह ‘ए’को दुवै खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगे पनि प्रीति भने कम्बोडियामा थिइन्। 

प्रीति यस सिजनमा कम्बोडियन लिग खेलिरहेकी छिन्। तर, साफ च्याम्पियनसिप फिफा विन्डोअघि नै सुरु हुँदा प्रीति नेपाली टिमसँग जोडिन नपाएकी हुन्। फिफा विन्डो आजबाट सुरु भएर ९ जुनसम्म रहेको छ। 

रास्वपा सभापति लामिछानेलाई दिल्लीमा भाजपाका महासचिव तथा विदेश विभाग प्रमुखद्वारा स्वागत

पाँचदिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले विमानस्थलमा स्वागत गरेका छन्। भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणमा लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको हो । 

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा माइतीघरमा विभिन्न दल र समूहको प्रदर्शन (तस्बिरहरू)

प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्तिको प्रदर्शनमा काठमाडौंको माइतीघरमा विभिन्न दल, तीन भ्रातृ संगठन र समूहले प्रदर्शन गरेका छन्। नेकपा (एमाले), कांग्रेसनिकट भ्रातृ संगठन तरुण दल, संयुक्त विद्यार्थी संगठनलगायतले विरोध प्रदर्शन गरेका हुन्। 

प्रधानमन्त्री शाहले आइतबार संसदमा बोल्दै भारतले मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए। उनको सो अभिव्यक्तिको आलोचना भइरहेको छ। सडकमा प्रदर्शनसमेत भएका छन्। 

ललितपुरमा ठुलो मात्रामा लागुऔषधसहित ट्याक्सीचालक पक्राउ(भिडियोसहित)

सशस्त्र प्रहरी बलले ललितपुरमा ठुलो मात्रामा लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको टोलीले ललितपुरको गोदावरी नगरपालिका- २ धाराचौरबाट सातवटा बोरामा लुकाइराखेको लागुऔषध बरामद गरेको हो। दुई लाख १० हजार ६४० पिस ट्रामाडोल नामक लागुऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। 
बिशंखुनारायणको जंगलमा लुकाएर राखेको अवस्थामा सो लागुऔषध बरामद भएको हो। 

बिरामीको मृत्युपछि झारफुक गर्ने व्यक्तिविरुद्ध मुद्दा दायर

झारफुक गर्ने व्यक्तिले दिएको औषधिले बिरामीको मृत्यु भएपछि प्रहरीले मुद्दा दायर गरेको छ। दोलखाको गौरीशंकर– ३ भर भई हाल कागेश्वरी मनहरा– ८ बस्ने ५९ वर्षीय मोतीबहादुर खड्काविरुद्ध प्रहरीले मुद्दा दायर गरेको हो। झारफुक गर्दै आएका खड्काले दिएको औषधिले बिरामीको मृत्यु भएको भन्दै इलाजसम्बन्धी कसुरमा काठमाडौं प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

सन्दीप, कुशल र दीपेन्द्रले श्रीलंकाको लंका प्रिमियर लिग खेल्ने

लेग स्पिनर सन्दीप लामिछाने तथा अलराउन्डरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले श्रीलंकाको लंका प्रिमियर लिग खेल्ने भएका छन्। सोमबार भएको खेलाडी ड्राफ्टबाट जाफ्ना किंग्सले सन्दीप र दीपेन्द्रलाई अनुबन्ध गरेको हो।

ओपनर कुशललाई कोलम्बो काप्सले भित्र्याएको छ। अनुबन्ध भएसँगै सन्दीपले २० हजार अमेरिकी डलर (करिब ३० लाख नेपाली रुपैयाँ) पाउने पक्का भएको छ। यस्तै, कोलम्बो काप्समा अनुबन्ध भएका कुशल र जाफ्ना किंग्समा अनुबन्ध भएका दीपेन्द्रले समान १५ हजार अमेरिकी डलर पाउनेछन्।

सुझावित समाचार