चितवनसँग मकवानपुर ५४ रनले पराजित

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालापरिसरमा नवनिर्मित अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा आइतबार पहिलो घरेलु खेल भएको छ । बागमती कप टी–२० क्रिकेट प्रतियोगितामा चितवनले घरेलु टोली मकवानपुरलाई ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

ब्याटिङ र बलिङ दुवैमा सन्तुलित खेल प्रस्तुत गर्दै चितवनले उत्कृष्ट सुरुवात गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर क्रिकेट संघको संयुक्त आयोजनामा टस जितेर ब्याटिङ रोजेको चितवनले चार विकेट गुमाउँदै १०६ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा मकवानपुरले ५२ रन मात्र बनाएको थियो । 

चितवनका प्रतीक श्रेष्ठले १३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४० रन बनाए । प्रसन्न न्यौपानेले ६ बलमै २४ रन बनाए । चितवनका लागि पवन थापाले २१ तथा सूर्यांशु कोइरालाले ९ रनको योगदान दिए । मकवानपुरका साकार गजुरेल, समीर चौलागाईं, विशाल फुयाँल र शुभ कंसाकारले समान एक विकेट लिए । १०६ रनको लक्ष्य पछ्याएको मकवानपुर सुरुदेखि दबाबमा देखियो । चितवनका बलरहरूको कसिलो बलिङसामु मकवानपुरका ब्याट्सम्यान खुल्न सकेनन् ।

नियमित विकेट गुमाएको मकवानपुर लक्ष्यसम्म पुगेन । मकवानपुरका लागि गोकुल अधिकारीले सर्वाधिक १७ रन बनाए । 
विशाल भुसालले १३ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । चितवनका प्रतीक श्रेष्ठले दुई ओभरमा मात्र ६ रन खर्चेर तीन विकेट लिँदै मकवानपुरको ब्याटिङ धराशयी बनाएका थिए । नेपाल क्रिकेट संघ (क्यान)बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्ला मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौंको सहभागिता छ । प्रतियोगिता २६ जेठसम्म सञ्चालन हुनेछ ।

सुझावित समाचार