गत बिहीबार साँझ ३ देखि ४ बजे अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बिचल्ली भएका बुढीनन्दा नगरपालिका– १ हरिकवलका ४२ परिवारले राहत पाएका छन्।
नयाँ पत्रिका दैनिकमा यससम्बन्धी समाचार सम्प्रेषण भएलगत्तै इन्टरनेसनल नेपाल फेलोसिप (नेपाल)ले हरिकवल दलित बस्तीका ४२ परिवारलाई प्रतिव्यक्ति ५० केजी चामल सहयोग गरेको कार्यक्रमका जिल्ला संयोजक खेम मिश्रले जानकारी दिए। संस्थाले लामो समयदेखि स्वास्थ्य तथा सामुदायिक क्षेत्रमा काम गर्दै आएको छ।
बुढीनन्दा नगरपालिकाले बाढीपहिरो प्रभावित केही परिवारका लागि त्रिपाल वितरण गरेको छ।
बाढीपहिरोले बस्तीका घर बस्न नमिल्ने र घरभित्रका सम्पूर्ण लत्ताकपडा र खाद्यान्न नष्ट गरेको थियो। बाढीपहिरोबाट वडा नं. १ र ६ का करिब दुई सय घरपरिवार विस्थापित भएका छन्। बस्तीमा रहेको पादुका आधारभूत विद्यालयसहित बाटु सार्की र तुली सार्कीको घर बगाएको छ।