कान्तिलोकपथमा पुलबाट खसेको टेलरका चालक मृत फेला

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका– ८, बगुवास्थित कान्तिलोकपथ सडकखण्डअन्तर्गत बागमती खोलमा खसेको टेलरका चालक मृत फेला परेका छन् । टेलरका चालक हेटौँडा– ३ निवासी करिब ३० वर्षीय दलबहादुर बर्तौला गाडीको स्टेरिङमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

हेटौँडाबाट बगुवातर्फ जाँदै गरेको फलामका पाइप बोकेको  ना.६ख ४०४२ नम्बरको टेलर मकवानपुर र ललितपुर जोड्ने बागमती खोलाको पुलबाट तल खोलामा खसेर दुर्घटनामा परेको थियो । टेलरमा सवार सहचालक राक्सिराङ गाउँपालिका– ९ निवासी १७ वर्षीय प्रसन्न प्रजा सकुशल रहे पनि चालक बर्तौला भने फेला परेका थिएनन् ।

प्रहरीका अनुसार बागमती हाइड्रोपावरका लागि फलामका पाइप बोकेको टेलरमा बाँधिएको तार (टुचिन) चुँडिएपछि गाडी अनियन्त्रित भई पुलबाट खोलामा खसेको थियो ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको नेतृत्वमा ट्राफिक प्रहरीसहित पाँचजनाको टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक खोजीका क्रममा चालक सम्पर्कविहीन रहेका थिए ।

घटनापछि नेपाली सेनाको फास्ट ट्र्याक सुरक्षा बेसबाट जमदार माधवप्रसाद घिमिरेको नेतृत्वमा सातजनाको टोली उद्धारका लागि परिचालन गरिएको थियो । सेना र प्रहरीको संयुक्त टोलीले खोजीका क्रममा टेलरका चालक बर्तौलालाई स्टेरिङमै चेपिएको अवस्थामा मृत फेला पारेका थिए । शनिबार राति करिब ८ः२० बजे क्रेनको सहायताले टेलरलाई खोलाबाट बाहिर निकालिएपछि मात्रै चालक बर्तौलाको अवस्था पत्ता लागेको थियो ।

See More On

सुझावित समाचार