मेसीसहित अर्जेन्टिनाको अन्तिम टोली घोषणा

शनिबार, १६ जेठ, २०८३
डिजिटल संस्करण

अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले कप्तान लियोनल मेसीसहित अधिकांश विश्वकप विजेता खेलाडी आगामी २०२६ विश्वकप टोलीमा रहने जनाएका छन् । चार वर्षअघि कतारमा विश्वकप उपाधि जितेको अर्जेन्टिनाले च्याम्पियन खेलाडीकै साथमा उपाधि रक्षा गर्ने प्रशिक्षक स्कालोनीले बताएका हुन् । ‘हामी यसपटक पनि च्याम्पियन खेलाडीकै साथमा विश्वकप खेल्छौँ । उत्कृष्ट प्रदर्शन गरी उपाधि जित्छौँ,’ उनले भने ।

अर्जेन्टिनी फुटबल संघले बिहीबार राति चोटग्रस्त कप्तान मेसीसहित २६ सदस्यीय टोली घोषणा गरेको हो । प्रशिक्षक स्कालोनीले छनोट गरेको २६ मध्ये १७ खेलाडी चार वर्षअघि कतार विश्वकप खेलेका हुन् । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि हात पारेको थियो । यसै साता अमेरिकन सकर लिगमा चोट बोकेका मेसी फिट छैनन् । तर, उनी विश्वकपअगाडि नै फिट हुने अनुमान गरिएको छ । फिफाले १ जुनसम्म अन्तिम टोली बुझाउन समय दिएको थियो । मेसी स्वयं बायाँ ह्यामस्ट्रिङको मांसपेशी थकान र तनावबाट पीडित छन् ।

यही समस्याका कारण उनले गत आइतबार इन्टर मियामीबाट पूरै समय खेल्न सकेनन् । चोट मुक्त हुँदै विश्वकपमा सहभागी हुँदा मेसीको छैटौँ सहभागिता हुनेछ । उनले २००६ को जर्मनी, २०१० को दक्षिण अफ्रिका, ०१४ को ब्राजिल, ०१८ को रसिया र २०२२ को कतार विश्वकप खेलेका थिए । यसैगरी, गत संस्करणमा उत्कृष्ट गोलकिपिङ गरेका गोलरक्षक एमिलियानो मार्टिनेज पनि टोलीमा छन् । उनले गत साता युरोपा लिग फाइनलमा एस्टन भिल्लाबाट खेलेका थिए । यद्यपि, उनी पनि चोटग्रस्त छन् । सो फाइनलमा उनको दायाँ हातको औँला भाँचिएको थियो ।

तीनपटकको विश्वकप विजेता 
अर्जेन्टिना सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो । अर्जेन्टिनाले १६ जुनमा अल्जेरियाविरुद्ध खेल्दै समूह ‘जे’अन्तर्गत विश्वकप यात्रा सुरु गर्नेछ । यस समूहमा अस्ट्रिया र जोर्डन पनि छन् । जोर्डन पहिलोपटक विश्वकपमा सहभागी भएको एसियाली राष्ट्र हो ।

प्रशिक्षक स्कालोनीले टोटेनह्यामका डिफेन्डर क्रिस्टियन रोमेरोलाई पनि टोलीमा राखेका छन् । उनी अप्रिलको मध्यतिर दाहिने घुँडाको लिगामेन्ट चोटबाट पुनरागमनको क्रममा छन् । डिफेन्डर नाहुएल मोलिना र गोन्जालो मोन्टियल पनि टोलीमा छन् । अर्जेन्टिनी टोली शनिबार विश्वकप बेस क्याम्पका लागि क्यान्सस सिटी प्रस्थान गर्ने भएको छ, जहाँ अर्जेन्टिनाले होन्डुरस र आइसल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

See More On

सुझावित समाचार