ठेकेदारले पूर्व–पश्चिम राजमार्ग विस्तारका नाममा झापाको दमक नगरपालिका–३, पानीघट्टामा अवैध क्रसर सञ्चालन भएको पाइएको छ । विगतमा सिवालिक निर्माण प्रालिले सञ्चालन गरेको क्रसरलाई पूर्व–पश्चिम राजमार्ग विस्तारको काम गर्दै आएको इभ्रास्कन/कालिका जेभीले सम्झौता गरेर सञ्चालन गर्दै आएको छ ।
तर, जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला समन्वय समितिले बिहीबार गरेको अनुगमनका क्रममा क्रसरको कागजात फेला परेन । दमक नगरपालिकाले दिएको अस्थायी क्रसर सञ्चालन अनुमतिबाहेक कुनै कागजात नभेटिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले बताए । ‘हामीले त्यहाँ जाँदा कागजात भेटेनौँ । दर्ता, नवीकरण, लेखा परीक्षण, प्रारम्भिक वातावरणीय प्रतिवेदनको कागजात भेटेनौँ । तत्काललाई गतिविधि (क्रसरमा काम) बन्द गराएका छौँ,’ उनले भने, ‘एसियन राजमार्ग निर्माण गर्ने कम्पनीले सम्झौता गरेर सञ्चालन गरिरहेको रहेछ । कम्पनीका प्रतिनिधिसँग कुराकानी पनि भयो । तर, सम्झौता कागजात पनि भेटेनौँ । अस्तित्व नै नभएको कम्पनीसँग त सम्झौता हुँदैन होला । यसको कानुनी व्यक्ति भेटिएन । जहाँ कागजात राख्नुपर्ने त्यहाँ राखेको पाइएन । राजमार्ग विस्तार गर्ने नाममा नागरिकको स्वास्थ्यमा असर गर्न पाइँदैन ।’
तत्कालै कागजात लिएर छलफलका लागि जिल्ला प्रशासन कार्यालय बोलाएको उनले बताए । यदि कागजात भएमा क्रसर सञ्चालन गर्न पाउने सहायक प्रजिअ प्रसाईंको भनाइ छ । तत्काललाई काम बन्द गरे पनि कागजात लिएर आएमा कागजात अध्ययन गरेर निर्णय गरिने उनले बताए । दमक नगरपालिकाले अस्थायी रूपमा अनुमति दिँदा कुन आधारमा दिएको हो भन्नेबारे पनि अध्ययन गर्नुपर्ने उनले बताए । क्रसर सञ्चालकले दमक नगरपालिकामा ८ चैत ०८० मा तीन लाख रुपैयाँ व्यवसाय कर तिरेको प्रमाण पेस गरेका छन् । तर, अनुगमनको क्रममा त्यसपछि नवीकरण भएको वा नभएको कागजात भने देखाउन सकेनन् ।
पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ल्याइदिने नदीजन्य पदार्थ र माटो अवैध रूपमा उत्खनन हुने गरेको भन्दै गुनासो हुँदै आएको छ । विगतदेखि नै चुरे क्षेत्रमा अवैध दोहन तथा पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानमा समेत अवैध उत्खनन भएको थियो । राजमार्ग विस्तारको नाममा अवैध क्रसरसमेत राखेको भेटिएको छ ।
यस्तै, दमक ३ कै बिएफओ बालुवा प्रशोधन केन्द्र पनि अवैध भएको पाइएको सहायक प्रजिअ प्रसाईंले बताए । अनुगमनका क्रममा यसको पनि कागजात फेला नपरेको उनको भनाइ छ । यद्यपि, यो बालुवा प्रशोधन केन्द्र करिब एक वर्षदेखि सञ्चालनमा छैन । तर, अब सञ्चालन गर्ने गरी नदीजन्य पदार्थ भण्डार सुरु गरिएको अनुगमनमा पाइएको थियो । प्रारम्भिक वातावरणीय परीक्षणसमेत नगरी सञ्चालन क्रसर चलाइएको र बस्तीनजिक भएकाले स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी परेको थियो ।