बागमतीमा एचआइभी संक्रमण घट्दो, तर जोखिम अझै कायम

सामाजिक विभेद र सेवा अभाव चुनौती

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल सरकारले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्यसहित ‘राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६’ कार्यान्वयन गरिरहेको छ। पछिल्ला वर्षहरूमा संक्रमण दर घट्दै गएको तथ्यांक सार्वजनिक भइरहेका वेला बागमती प्रदेशमा भने एचआइभी संक्रमण नियन्त्रण पूर्ण रूपमा सुरक्षित अवस्थामा पुग्न नसकेको देखिएको छ । संक्रमण दर घटे पनि उच्च जोखिम समूह, परीक्षणमा ढिलाइ, सामाजिक विभेद र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभाव चुनौतीका रूपमा कायमै छन् ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेश, हेटौँडाका अनुसार नेपालमा हाल अनुमानित ३४ हजार ३३७ जना एचआइभी संक्रमित छन् । वयस्क जनसंख्यामा संक्रमण दर ०.१३ प्रतिशत रहेको छ। औसतमा दैनिक १.७ जना नयाँ संक्रमित थपिने गरेका छन् । सन् २००० मा नयाँ संक्रमणको संख्या पाँच हजार ५४५ पुगेको थियो भने सन् २०२४ मा त्यो संख्या घटेर ६ सय १४ मा सीमित भएको छ । यसलाई स्वास्थ्य क्षेत्रले उपलब्धिका रूपमा लिएको छ ।

बागमती प्रदेशमा पनि संक्रमण दर अघिल्ला वर्षको तुलनामा घट्दो क्रममा देखिएको छ । स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य प्रशासक सञ्जु राईका अनुसार आर्थिक वर्ष ०७९/८० मा ८८३ जनामा संक्रमण पुष्टि भएको थियो भने आर्थिक वर्ष ०८०/८१ मा त्यो संख्या घटेर २०८ मा झरेको छ । हालसम्म प्रदेशभर आठ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांक छ ।

संक्रमितमध्ये सात हजार १०४ जना नियमित उपचार सेवामा आबद्ध छन् । तीमध्ये ६ हजार ७० जनामा भाइरल लोड दबिएको अवस्था रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चिकित्सकहरूका अनुसार भाइरल लोड दबिएको अवस्था भनेको संक्रमित व्यक्तिको शरीरमा भाइरसको असर नियन्त्रणमा हुनु हो, जसले संक्रमण अरूमा सर्ने जोखिमसमेत न्यून बनाउँछ ।

जनस्वास्थ्य प्रशासक सञ्जु राईका अनुसार कुनै समय एचआइभी संक्रमण समाजमा अत्यधिक डर, भ्रम र सामाजिक बहिष्कारसँग जोडिन्थ्यो । तर, अहिले आधुनिक उपचार पद्धति, जनचेतना र नियमित औषधि सेवनका कारण संक्रमितहरू सामान्य जीवन बिताउन सक्षम बन्दै गएका छन् ।

‘समयमै परीक्षण गरेर नियमित उपचार सुरु गरे संक्रमित व्यक्ति पनि अन्य मानिससरह सामान्य जीवन बाँच्न सक्छन्,’ उनले भनिन्, ‘धेरै संक्रमित अहिले रोजगारी, परिवार र सामाजिक गतिविधिमा सक्रिय छन् ।’ प्रदेशमा एचआइभी परीक्षण तथा परामर्श (एचटिसी) सेवाअन्तर्गत आर्थिक वर्ष ०८१/८२ मा मात्रै एक लाख १९ हजारभन्दा बढी व्यक्तिले परामर्श लिएका थिए । तीमध्ये ९४ हजार ९९२ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आमाबाट बच्चामा संक्रमण रोकथाम (पिएमटिसिटी) सेवाअन्तर्गत पनि एक लाख १९ हजार ६१७ जनालाई परामर्श सेवा दिइएको थियो । परीक्षण गरिएकामध्ये १३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक छ । संयुक्त राष्ट्रसंघीय एचआइभी/एड्स कार्यक्रम (युएनएड्स) ले निर्धारण गरेको ‘९५–९५–९५’ लक्ष्यअनुसार सन् २०२६ सम्म ९५ प्रतिशत संक्रमितले आफ्नो अवस्था थाहा पाउने, तीमध्ये ९५ प्रतिशत उपचारमा आबद्ध हुने र उपचारमा रहेकामध्ये ९५ प्रतिशतको भाइरल लोड नियन्त्रणमा ल्याउने लक्ष्य राखिएको छ ।

तर, बागमती प्रदेशमा हालसम्म ८६ प्रतिशत संक्रमितले मात्रै आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन् । संक्रमितमध्ये ९७ प्रतिशत उपचारमा आबद्ध भए पनि उपचारमा रहेका ८५ प्रतिशतको मात्रै भाइरल लोड नियन्त्रणमा आएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र झाले संक्रमितहरू एआरटी सेवामा भर्ना हुनुअघि नै सम्पर्कविहीन हुने दर बढ्दै गएको बताए । ‘परीक्षणपछि उपचारमा ल्याउन नसक्नु अहिलेको मुख्य चुनौती हो,’ उनले भने, ‘परीक्षण किटको नियमित आपूर्ति, स्वास्थ्य बिमा र सामाजिक सुरक्षाको अभावले पनि समस्या बढाएको छ ।’

केही समूह अझै  उच्च जोखिममा 
नेपालमा एचआइभी संक्रमण मुख्यतः सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरू, महिला तथा पुरुष यौनकर्मी, तेस्रोलिंगी समुदाय, वैदेशिक रोजगारीमा जाने पुरुष श्रमिक तथा उच्च जोखिम व्यवहारमा संलग्न समूहमा बढी देखिएको छ । एआरटी सेवा लिनेहरूमध्ये ६६ प्रतिशत घरायसी काम गर्ने महिला, बालबालिका तथा अन्य पहिचान नखुलेका समूह रहेका छन् भने १५ प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक छन् ।

भौगोलिक रूपमा तराईका राजमार्ग आसपासका जिल्ला, काठमाडौं उपत्यका, पोखरा तथा सुदूरपश्चिमका पहाडी जिल्लालाई ‘एचआइभी एपिडेमिक जोन’ का रूपमा वर्गीकरण गरिएको छ । प्रदेशभर हाल १८ वटा एआरटी सेवा केन्द्र सञ्चालनमा छन् । त्यस्तै ६ वटा ओएसटी (ओपिओइड सब्स्टिच्युसन थेरापी) साइट काठमाडौं, ललितपुर, भक्तपुर र चितवनमा सञ्चालनमा रहेका छन् । प्रारम्भिक शिशु निदानका लागि १६ वटा संकलन केन्द्र तथा काठमाडौं र चितवनमा दुईवटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा छन् ।

जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै चार हजार २०५ जना एआरटी सेवामा आबद्ध छन् भने चितवनमा एक हजार २२३ जना रहेका छन् । रसुवा र रामेछापमा भने एआरटी सेवामा रहेका संक्रमितको संख्या शून्य रहेको तथ्यांक छ ।

सामाजिक र आर्थिक सहयोग आवश्यक
एचआइभी संक्रमण न्यूनीकरणमा क्रियाशील एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले संक्रमितहरूलाई सामाजिक तथा आर्थिक रूपमा सहयोग गर्नुपर्ने बताए । ‘आर्थिक अवस्था कमजोर भएका संक्रमितलाई पनि आधुनिक उपचार र परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘एचआइभीलाई रोग मात्रै होइन, सामाजिक मुद्दाका रूपमा बुझ्न आवश्यक छ ।’

स्वास्थ्यकर्मीहरूका अनुसार आगामी दिनमा भाइरल लोड परीक्षण सेवाको विस्तार, आमाबाट बच्चामा संक्रमण पूर्ण रूपमा रोक्ने रणनीति, सरकारी लगानी वृद्धि तथा दक्ष जनशक्ति परिचालनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।
 

सुझावित समाचार