कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले असारसम्म किसानलाई ६ लाख मेट्रिकटन मल उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छिन् । बुधबार प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा बढी भएको उल्लेख गरिन् ।
नेपाल सरकारले लागत सहभागिताको आधारमा किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको बताउँदै चालू आर्थिक वर्षमा पाँच लाख ५४ हजार सात सय ६२ मेट्रिक टन मल आपूर्ति भएको उल्लेख गरिन् । चार लाख ६३ हजार एक सय सात मेट्रिक टन किसानलाई बिक्री गरिसकेको र गोदाममा रहेको, नेपालमा भित्रिएको, तर गोदाममा इन्ट्री हुन बाँकी रहेको एक लाख ४४ हजार पाँच सय ८५ मल मौज्दात रहेको बताइन् । चालू आर्थिक वर्षको असारसम्मको अवधिमा करिब कुल ६ लाख मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइने प्रतिबद्धता जनाइन् । जुन अहिलेसम्मकै बढी परिणाम रहेको उनको दाबी छ ।
मध्यपूर्वी युद्धले मलको उत्पादन एवं आपूर्तिमा समस्या भएको भन्दै मन्त्री चौधरीले मलको मूल्यमा उच्च वृद्धि भइरहेको उल्लेख गरिन् । आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटमा खर्च हुने गरी सम्झौता भइसकेको एक लाख ८७ हजार मेट्रिक टन मल आउन नसकेको उनको भनाइ छ । मल अभावका विषयमा जनप्रतिनिधिले उठाएको प्रश्नले मन्त्रालयको विशेष ध्यनाकर्षण भएको उनको भनाइ छ ।
धान रोपाइँमा मलको अभाव नहोस् भनेर आपूर्तिकर्ताहरूलाई समयमै मल आपूर्ति गर्न मन्त्रालयले ताकेता गरिरहेको जानकारी दिइन् । भारतसँग जिटुजी खरिद माध्यमबाट ५० हजार मेट्रिक टन मल खरिद गर्न मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्ति गरी सोहीअनुसार मलको खरिद प्रक्रियम अगाडि बढाएको पनि उनले बताइन् ।