नेपाली लोकरक ब्यान्ड नेपथ्य अब रोजगारीका निम्ति पराई भूमि पुगेका श्रोतासँग उभिने भएको छ। क्यानडा र न्युजिल्यान्ड भ्रमण सकेर गत साता मात्र स्वदेश फिरेको समूह जुन पहिलो तारिखमा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुत हुँदै छ।
त्यहाँ बसोबास गर्दै आएकाहरूले ‘जेप क्वालालम्पुर’मा आगामी सोमबार बेलुकी नेपाली लोकधुनमा आधारित रक गीतहरूको आनन्द लिन सक्नेछन्। जापानको जेप नेटवर्कअन्तर्गत रहेर चार वर्षअघि मात्र तयार भएको यो अन्तर्राष्ट्रिय रंगमन्च सहरकै मुख्य पर्यटकीय गन्तव्य बुकित बिन्ताङमा अवस्थित छ।
‘मलेसियाबाट धेरै अगाडिदेखि सामाजिक सञ्जालमार्फत हामीसँग संवाद गरिरहनुभएका दर्शकसँग यसपाला बल्ल भेटघाटको जोग जुर्न लागेकोमा असाध्यै खुसी छु,’ मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ भन्छन्, ‘रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रलाई टेको दिने तन्नेरीहरूसँग स्वदेशको माया बाँड्न म र मेरो टिम आतुर छौँ।’
लाहुरे परिवारकै सदस्य भएकाले कुनै समयको ‘मलाया’सँग आफ्नो पनि विगत जोडिएको अमृत बताउँछन्।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्। कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ। त्यसका लागि नेपथ्यको वेबसाइटबाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ।
त्यसबाहेक मलेसियामा बसोबास गर्दै आएका दर्शकको बढ्दो चासोलाई दृष्टिगत गर्दै फोनबाटै बुकिङको व्यवस्था पनि स्थानीय आयोजकले मिलाएका छन्, जसको विस्तृत जानकारी नेपथ्यको सामाजिक सञ्जाल पेजहरूमा उल्लेख छन्।