बाजुरा–हुम्ला सीमा विवाद : सरकारद्वारा दुई समिति गठन

लाम्पाटामा बाजुरा र हुम्लाबाट खटाइयो ४३ सुरक्षाकर्मी

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

बाजुरा र हुम्ला जिल्लाबिचको सीमा विवादले क्षेत्रको अवस्था तनावग्रस्त बनेपछि सरकारले छानबिनका लागि दुई छुट्टाछुट्टै समिति गठन गरेको छ । विवाद तथा शान्ति–सुरक्षाको अवस्थाबारे अध्ययन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा र प्राविधिक तथा नापीसम्बन्धी पक्षको अध्ययन गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा अर्को प्राविधिक समिति गठन गरिएको हो ।

गत ७ जेठमा बाजुरा र हुम्लाको सीमाक्षेत्र रानीसैन–लाम्पाटा च्याचौर क्षेत्रमा भएको झडपमा ६ जना घाइते भएका थिए । लाम्पाटा क्षेत्रमा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी निर्माणको काम अघि बढाएपछि उक्त भूभाग हुम्लामा पर्ने दाबी गर्दै विवाद चर्किएको थियो । ६ दिनसम्म पनि घटना साम्य नभएपछि गृह र भूमि मन्त्रालय मातहतका दुई समिति बनाइएको हो । 
आइतबार गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सबै निकायका सुरक्षा प्रमुख तथा प्रतिनिधिसहितको बैठकले समिति गठन गरेको हो । बैठकले समितिलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । सो घटनापछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्थालाई थप मजबुत बनाउन जिल्ला सुरक्षा समितिलाई सुरक्षा रणनीति अख्तियार गर्नसमेत निर्देशन दिइसकेको छ । दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ । भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले समिति गठन गरेको हो । 

सुझावित समाचार