१९ सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनीतिक दबाबमा आएका एमाले अध्यक्ष केपी ओलीले यो मुद्दालाई केन्द्रीय कमिटीबाट टुंग्याउने भन्दै पछाडि धकेलेका छन् । पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेशसँगै अन्तिम टुंगो केन्द्रीय कमिटी बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र धु्रवीकरण बढाउने देखिएको छ ।
बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष थप चर्किने संकेत देखिएको छ । यद्यपि, आइतबार सम्पन्न बैठकले २१ फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल बनाएको छ । कार्यदलले चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ ।
कार्यदलमा पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप ज्ञवालीसहित आठै प्रदेशका इन्चार्जहरू सदस्य रहेका छन् । असार दोस्रो सातापछि डाकिने केन्द्रीय समिति बैठकअघि केन्द्रीय सचिवालय बैठक बस्नेछ, जहाँ कार्यदलले प्रतिवेदन पेस गर्नेछ । त्यसपछि मात्रै एमालेमा पुनर्गठनको मुद्दा कसरी टुंगिन्छ भन्ने प्रारम्भिक कोर्स सुरु हुनेछ । महासचिव शंकर पोखरेल र अध्यक्ष ओलीले आपसी सल्लाह गरेर १५ देखि २० असारभित्र केन्द्रीय कमिटी बैठक बोलाउने सचिवालयको निर्णय छ ।
बैठकमा आफ्ना विश्वासपात्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल नै आफूलाई हटाएर पार्टी पुनर्गठन गर्ने पक्षमा उभिएसँगै बहुसंख्यक नेता पनि त्यही दिशामा अग्रसर भएपछि ओली आक्रोशित भएका थिए । त्यसपछि पुनर्गठनको औचित्यमाथि प्रश्न उठाउँदै उनले केन्द्रीय कमिटी बैठक ‘फेस’ गर्न तयार रहेको धारणा राखेका थिए ।
पुनर्गठनको शब्द नै सुन्न नचाहेर आफ्नै नेतृत्वमा पार्टी एकताबद्ध भएको सन्देशसहित अगाडि बढाउन चाहे पनि बहुसंख्यक नेता आफ्नो विकल्पमा उभिएकै कारण ओली बैठकको समापनमा भने नरम रूपमा प्रस्तुत भएको एक पदाधिकारीले बताए । त्यही कारण पुनर्गठन प्रस्ताव स्विकार्दै केन्द्रीय कमिटीमा बहस र छलफलको सर्वसम्मत रूपमा समझदारी भएको तथा त्यसले पार्टी एकताको दिशामै अघि बढेको सकारात्मक सन्देश दिएको पनि ती नेताको दाबी छ ।
बैठकपछि उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकमा सबै नेतालाई अध्यक्षले असीमित समय दिएर खुला छलफल गर्ने वातावरण सिर्जना गरेका कारण खुला छलफल भएको र त्यसले पार्टीलाई वैचारिक रूपमा मात्र नभएर भावनात्मक रूपमा समेत एकताबद्ध बनाएको दाबी गरे । अर्का उपमहासचिव योगेश भट्टराईले चुनावी समीक्षा र पुनर्गठनको प्रस्तावलाई बैठकले एकैसाथ अगाडि बढाएको बताए । उनले पार्टीले बनाएको कार्यदलले ल्याउने प्रस्तावमाथि फेरि केन्द्रीय सचिवालयमा छलफल हुने र त्यसलाई अन्तिम रूप दिएर केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत हुने बताए ।
अध्यक्ष ओलीको प्रतिरक्षा गरिरहेका सचिव महेश बस्नेतले बैठकमा अध्यक्षका प्रस्तावहरू नै सर्वसम्मत पारित भएकाले बाहिर कमजोर संख्या भन्दै गरिएको प्रचारबाजी झुटो साबित भएको बताए । ‘अध्यक्षका पक्षमा सचिवालयमा कमजोर संख्या भयो भन्ने बाहिर जुन ढंगले मिडियाबाजी भयो, हामीले भ्रामक भनेकै थियौँ, आखिर त्यही साबित भयो, किनभने अध्यक्षले प्रस्ताव गरेकै सबै प्रस्ताव सर्वसम्मत पारित भए,’ बस्नेतले भने ।
पौडेलको नेतृत्वमा ६ सदस्यीय संविधान संशोधन कार्यदल
अध्यक्ष केपी ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय संविधान संशोधन कार्यदल बनाउन प्रस्ताव गरेका छन् । कार्यदलमा टीकाराम भट्टराई, अग्निप्रसाद खरेल, जुलीकुमारी महतो, महेश बर्तौला र कृष्णभक्त पोखरेल छन् । अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा चुनावी समीक्षा र पुनर्गठन प्रस्तावसम्बन्धी कार्यदल गठन गरिएको छ ।
सबै जिल्ला र प्रदेशमा पुगेर पार्टीलाई पूर्वअवस्थामै फर्काउँछु : ओली
बैठकमा अध्यक्ष ओलीले पार्टीलाई पुनः सशक्त र संगठित बनाउने स्पष्ट घोषणा गरेका छन् । आफ्नो स्वास्थ्य अवस्था लगभग पूर्ण रूपमा सुधारिएको दाबी गर्दै उनले अब देशव्यापी अभियानमा जुट्ने बताएका हुन् । ‘मेरो स्वास्थ्य ९८ प्रतिशत ठिक भएको छ । अब म प्रत्येक जिल्ला र प्रदेशमा पुगेर पार्टीमा नयाँ ऊर्जा भर्छु, संगठनलाई उठाउँछु र एमालेलाई पुरानै शक्तिशाली अवस्थामा फर्काउँछु,’ ओलीको भनाइ उद्धृत गर्दै सचिव बस्नेतले भने ।
ओलीले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र लोकतान्त्रिक प्रणालीमाथि नियोजित षड्यन्त्र भएको दाबी गर्दै आफ्नो सरकारमाथि समेत राजनीतिक रूपमा सुनियोजित आक्रमण गरिएको टिप्पणी गरेका छन् । ‘जसरी रुखमा बसेको चरालाई सिकारीले ढाल्छ, त्यसरी नै नेपालको सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणाली समाप्त पार्न केपी ओली नेतृत्वको सरकारमाथि हमला गरिएको हो,’ ओलीको भनाइ थियो । ओलीले कुनै भ्रममा नपरी एकताबद्ध हुन कार्यकर्तासँग समेत आग्रह गरेका छन् । ‘निराश भएका पंक्तिलाई उत्साहित बनाउँदै हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ ओलीको भनाइ थियो ।