आइतबार १० बजेसम्मका प्रमुख १० खबर

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

एमालेद्वारा विष्णु पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन

नेकपा(एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । पार्टीको सचिवालय बैठकले कार्यदल गठन गरेको हो। 

कार्यदलमा रघुजी पन्त, छवीलाल विश्वकर्मा, पद्मा अर्याल, जुली महतो, अग्नि खरेल, महेश बर्ताैला, कृष्णभक्त पोखरेल, रमेश बढाल, अमर थापा, टीकाराम भट्टराई र पासाङ शेर्पा छन्। 

आर्थिक संकट, कोइला अभावबिच थलिएको हेटौँडा सिमेन्ट उद्योगको उद्योगमन्त्री यादवद्वारा अनुगमन

पछिल्लो समय बन्द अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योगको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आइतबार उद्योगको स्थलगत अनुगमन गरेकी छन्।

उनले आर्थिक संकट, कच्चा पदार्थ अभाव र कानुनी जटिलताका कारण समस्याग्रस्त बनेको उद्योगको वर्तमान अवस्था, समस्या र पुनः सञ्चालनका सम्भावनाबारे जानकारी समेत लिएकी छन् ।

अनुगमनका क्रममा उद्योगका महाप्रबन्धक शिवनारायण साह र नायब महाप्रबन्धक भक्तीराम श्रेष्ठले उद्योगको वित्तीय, प्रशासनिक तथा प्राविधिक अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराएका थिए । उनीहरूले कच्चा पदार्थ कोइलाको अभाव, उपकरण मर्मतको काम बाँकी रहनु तथा आर्थिक दायित्व बढ्दै जानु उद्योग बन्द हुनुका मुख्य कारण रहेको बताएका थिए ।

रास्वपाको महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेसँगै रास्वपाले आइतबार कार्यतालिका सार्वजनिक गरेको हो।

नेचर गाइड बनेर देशमै अवसर सदुपयाेग गरिरहेका दिनेश

रोजगारीको खोजीमा देश छाड्ने युवाहरू दिन प्रतिदिन बढ्दै गइरहँदा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तीसारका २३ वर्षीय दिनेश आचार्यले गाउँघरमै बसेर निकुञ्जमा घुम्न आउने पर्यटकलाई घुमाउने अवसरको सदुपयोग गरिरहेका छन्। 

ठाकुरद्वारामा रहेको हात्तीसारनजिकै आचार्यको घर छ। सानैदेखि उनले निकुञ्ज घुम्न आउने पर्यटक देखे। छरछिमेकीले विदेशी पर्यटकलाई घुमाउने काम गरेको देखेका उनलाई पर्यटक घुमाउने पनि काम हुँदो रहेछ भन्ने लाग्यो। पछि उनी पनि पर्यटन पेशातिरै लागे।

बल्खुमै पार्टी कार्यालय बनाउने एमालेको निर्णय

नेकपा(एमाले)ले बल्खुमै पार्टी कार्यालयका लागि नयाँ भवन बनाउने निर्णय गरेको छ। शनिबार सम्पन्न पार्टीको सचिवालय बैठकले पुरानो भवन रहेकै स्थानमा भवन बनाउने निर्णय गरेको हो। 

पार्टीका नेता लेखराज भट्टका अनुसार हाल कार्यालय रहेको पुष्पलाल स्मृति भवन खाली गराउनुपर्ने भएकाले तत्कालका लागि भाडामा नयाँ कार्यालय खोज्ने र बल्खुमा नयाँ भवन निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको छ। यसअघि व्यवसायी मीनबहादुर गुरुङले भवन निर्माण गरिदिने प्रक्रिया अघि बढाएकामा धन्यवादसहित उनलाई नै फिर्ता दिने निर्णय भएको छ। 

छोरीलाई बोझ नसम्झनुस्, पढाउनुस् : उपसभामुख ठाकुर

प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले छोरीलाई पढ्न र पढाउनका लागि प्रोत्साहन गर्न आग्रह गरेकी छिन्। आइतबार सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको दुईदिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’लाई सम्बोधन गर्दै उपसभामुख ठाकुरले यस्तो बताएकी हुन्।

विषेश गरी मधेशमा जरो गाडेर बसेको दाइजो प्रथा र बालविवाहविरुद्ध  सास रहुन्जेल लडिरहने बताउँदै ठाकुरले बालविवाह र दाइजो प्रथा देशबाटै उन्मूलन हुनुपर्ने बताइन्। छोरीलाई घरबाटै सम्मान गर्न सिक्नुपर्ने उनको भनाइ छ। ‘तपाईंहरू दुई चारवटा छोरी जन्मने वित्तिकै बोझ सम्झिएर दुख मान्नुहुन्छ,’ उनले भनिन्, ‘माता सीताको जन्मभूमिमा छोरी जन्मनु कसरी बोझ हुन सक्छ?’

बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन ल्याउने गरेको उल्लेख गर्दै उनले दाइजो दुवै परिवारको अभिशाप भएको औँल्याइन्। पछिल्लो समय किशोर किशोरीहरूले घर छाडेर हिँड्ने गरेकोतर्फ संकेत गर्दै उनले अभिभावकको सरसल्लाहलाई गलत सोचेर विद्रोह नगर्न अनुरोध पनि गरिन्।

तरुण दलको अध्यक्षमा मनीष कोइराला

नेपाली कांग्रसनिकट भातृ संगठन तरुण दलको अध्यक्षको जिम्मेवारी मनीष कोइरालाले पाएका छन्। पुरानो कमिटी भंग भएसँगै कोइरालालाई पार्टी सभापति गगन थापाले जिम्मेवारी दिएका हुन्। 

उनलाई समयभित्र महाधिवेशन गर्नेलगायत नौबुँदे कार्यादेश दिइएको पार्टीका कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

पार्टी पुनर्गठनको विषयमा निर्णय लिन एमालेले बोलायो केन्द्रीय समिति बैठक

नेकपा(एमाले)ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीको सचिवालय बैठकले असार १५ देखि २० गतेको बिचमा बैठक बोलाउने निर्णय गरेको हो। 

उपमहासचिव  लेखराज भट्टका अनुसार पार्टी अध्यक्ष र महासचिवबिचको सल्लाहमा १५ देखि २० गतेको बिचमा बैठकको मिति तय हुनेछ । सोही बैठकले पार्टी पुनर्गठनको विषयमा निर्णय हुने भएको छ । 

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल घरेलु कोर्टमा जारी काभा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले पहिलो सेट २५–१२ ले जित्यो। दोस्रो सेटमा पनि सानदार प्रदर्शन गर्दै नेपाल २५–९ को जित निकाल्न सफल भएको थियो। तेस्रो सेटमा पनि नेपाल २५–२० को सहज जित निकाल्न सफल भयो।

अलइन्डिया गोल्डकप खेल्ने नेपाल ‘ए’ टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले भारतको अलइन्डिया गोल्डकप खेल्ने ‘ए’ टोली घोषणा गरेको छ। क्यानले अनिल साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा साहसँगै ललित राजवंशी, देव खनाल, अर्जुन कुमाल, मयन यादव, तृतराज दास, रासिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दीपक डुम्रे, युवराज खत्री र विपिन खत्री समावेश छन्।

मे ३० मा केरलासँग पहिलो खेल खेल्ने नेपाल ‘ए’ले  मे ३१ मा गोवा र जुन २ मा ओडिसासँग खेल्नेछन्। प्रतियोगिताको क्वार्टरफाइनल जुन ४, सेमिफाइनल जुन ६ र फाइनल जुन ७ मा हुनेछ।

सुझावित समाचार