प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले छोरीलाई पढ्न र पढाउनका लागि प्रोत्साहन गर्न आग्रह गरेकी छिन्। आइतबार सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको दुईदिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’लाई सम्बोधन गर्दै उपसभामुख ठाकुरले यस्तो बताएकी हुन्।
विषेश गरी मधेशमा जरो गाडेर बसेको दाइजो प्रथा र बालविवाहविरुद्ध सास रहुन्जेल लडिरहने बताउँदै ठाकुरले बालविवाह र दाइजो प्रथा देशबाटै उन्मूलन हुनुपर्ने बताइन्। छोरीलाई घरबाटै सम्मान गर्न सिक्नुपर्ने उनको भनाइ छ। ‘तपाईंहरू दुई चारवटा छोरी जन्मने वित्तिकै बोझ सम्झिएर दुख मान्नुहुन्छ,’ उनले भनिन्, ‘माता सीताको जन्मभूमिमा छोरी जन्मनु कसरी बोझ हुन सक्छ?’
बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन ल्याउने गरेको उल्लेख गर्दै उनले दाइजो दुवै परिवारको अभिशाप भएको औँल्याइन्। पछिल्लो समय किशोर किशोरीहरूले घर छाडेर हिँड्ने गरेकोतर्फ संकेत गर्दै उनले अभिभावकको सरसल्लाहलाई गलत सोचेर विद्रोह नगर्न अनुरोध पनि गरिन्।
कार्यक्रममा सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले समाजमा व्याप्त कुरीति र कुसंस्कार शिक्षाले मात्र परिवर्तन गर्न सकिने भएकाले छोरीलाई पढाउन आग्रह गरिन्।
कार्यक्रममा मधेश प्रदेशअन्तर्गत विभिन्न पालिकाका उपाध्यक्ष र उपप्रमुखहरूको सहभागितामा बहस, छोरीलाई १२ कक्षा पढाएर २० वर्ष पारी विवाह गर्ने अभिभावक, बुहारीलाई ब्याचलर पढाउने अभिभावक र विनादाइजो विवाह गर्ने जोडीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो।
पालिकाले बालविवाह न्यूनीकरणको लागि २० वर्ष पारी विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै पुगेर नगद ५० हजारसहित सम्मान र प्लस टू पढ्ने छोरीहरूलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यसहित एकमुस्ट नगद ११ हजार रुपैयाँ दिँदै आएको छ।