कानुनविनै दिइएका पूर्वविशिष्टका गाडीलगायत सुविधा खोस्दै सरकार

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

कर्मचारीहरूले कानुनविपरीत प्रयोग गर्दै आएका सरकारी सवारीसाधन फिर्ता गराइरहेको सरकारले अब पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका गाडीसमेत फिर्ता गर्ने गृहकार्य थालेको छ । कानुनी व्यवस्था नै नभई मन्त्रिपरिषद्को निर्णयका आधारमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले गाडी र पिएलगायत सुविधा लिँदै आएका छन् ।

सर्वोच्च अदालतले यस्ता सुविधा दिनुअघि स्पष्ट कानुन बनाउन परमादेश जारी गरिसकेको भए पनि पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूले पहुँच तथा मन्त्रिपरिषद्को निर्णयकै आधारमा सरकारी सुविधा उपभोग गर्दै आएका छन् । सरकारले यस्ता सुविधा खारेज गर्ने विषयमा आन्तरिक तयारी अघि बढाएको हो ।

मन्त्रिपरिषद्बाट निर्णय गरी विगतमा दिइएका सुविधा खारेज गर्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छलफल थालेको छ । प्रधानमन्त्री कार्यालयले दुई साताअघि गृह मन्त्रालयसँग यससम्बन्धी विवरण मागेको थियो । गृह मन्त्रालयमार्फत पूर्वविशिष्ट पदाधिकारीले लिएको गाडीको विवरण प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

गृहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको विवरणअनुसार पूर्वराष्ट्रपति डा. रामवरण यादवले दुईवटा गाडी प्रयोग गर्दै आएका छन् । उनी बसेको घरको भाडासमेत सरकारले तिर्दै आएको छ । उनका लागि एक उपसचिवस्तरको र अरू दुई सहायकस्तरका कर्मचारी तथा पत्र–पत्रिका र अतिथि सत्कार खर्च पनि सरकारले उपलब्ध गराउँदै आएको छ । कुनै कानुनविना नै मन्त्रिपरिषद्को निर्णयका आधारमा उनले यस्तो सुविधा लिँदै आएकाले त्यसलाई खारेज गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

त्यस्तै, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, डा. बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पनि गृह मन्त्रालयमार्फत गाडीको सुविधा लिएका छन् । मन्त्रिपरिषद्कै निर्णयका आधारमा उनीहरूले यस्तो सुविधा लिएका हुन् । अन्यले पनि कुनै मन्त्रालयबाट यस्तो सुविधा लिइरहेको हुन सक्ने भएकाले प्रधानमन्त्री कार्यालयले बुझिरहेको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कतिपय पूर्वविशिष्ट अधिकारीले दोहोरो गाडी सुविधा लिइएको पाइएपछि फिर्ता गरिएको बताए । ‘पूर्वविशिष्ट पदाधिकारीले लिएको सुविधाबारे बुझ्ने काम भइरहेको छ, दोहोरो सुविधा लिनेको फिर्ता पनि गरिएको छ,’ उनले भने । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कानुन बनाएर यसलाई व्यवस्थित गर्ने कि तत्काल सुविधा खारेज गर्ने विषयमा छलफल भइरहेको छ । केही पूर्वसभामुखले पनि प्रधानमन्त्री कार्यालयलगायत निकायबाट कुनै निर्णयविना नै गाडीको सुविधा लिएको स्रोत बताउँछ ।

सर्वोच्चले २२ मंसिर ०६८ मा संसद्बाट कानुन बनाएर मात्रै पूर्वविशिष्टहरूलाई सेवा–सुविधाको व्यवस्था गर्न आदेश दिएको थियो । त्यसविपरीत पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख तथा पूर्वप्रधानन्यायाधीशलगायत अधिकारीले गाडी, इन्धनलगायत सुविधा राज्यबाट लिँदै आएका छन् ।

सरकारले हालै आफ्नै कर्मचारीले नियमविपरीत प्रयोग गरेका ७५० गाडी फिर्ता गरिसकेको छ । विद्यमान कानुनअनुसार राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीले मात्र यस्तो सुविधा पाउँछन् । तर, तल्लो तहका कर्मचारीले पनि पहुँचका आधारमा गाडी, इन्धन र चालकको सुविधा लिँदै आएका थिए । कर्मचारीको सुविधा खोसिए पनि पूर्वविशिष्टलाई भने सर्वोच्च अदालतको आदेशविपरीत सुविधा निरन्तर दिइएको छ । 
 

सुझावित समाचार