लुम्बिनीमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष ०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । शुक्रबार बसेको प्रदेश सभाको आठौँ अधिवेशनको तेस्रो बैठकमा प्रदेश सभा सदस्यहरूले सामाजिक न्याय, स्वास्थ्य सेवा विस्तार, कृषि उत्पादन, रोजगारी सिर्जना र उद्यम विकासलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

सदस्यहरूले सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषयहरूको प्रभावकारी कार्यान्वयनको विषयदेखि बजेट कार्यान्वयन प्रणालीलाई बलियो बनाउनुपर्ने, योजनामा वित्तीय अनुशासन कायम गर्नुपर्ने तथा खर्च प्रणालीलाई पारदर्शी र नतिजामुखी बनाउन आवश्यक रहेकोमा जोड पनि दिए ।

प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, भगवती अधिकारी, भुवनेश्वर चौधरी, तारा थापा, डिल्लीराज भुसाल, मीनाकुमारी श्रेष्ठ, बसन्ती न्यौपाने, यमबहादुर नेपाली सार्की, धनलक्ष्मी श्रेष्ठ, विष्णुप्रसाद पन्थीलगायतले छलफलमा भाग लिएका थिए । उनीहरूले बजेट प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सुझाव दिएका थिए । 

सुझावित समाचार