परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएका छन् । उनी औपचारिक भ्रमणमा नभएर १८ देखि २० जेठसम्म दिल्लीमा आयोजना हुने ‘इन्टरनेसनल बिट क्याट एलाइन्स शिखर सम्मेलन’मा सहभागी हुन जान लागेका हुन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा उनी सम्मेलनमा सहभागी हुन जाने तयारी भइरहेको छ, तर परराष्ट्रले भ्रमण कार्यतालिका सार्वजनिक गरेको छैन ।
सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भएका छन् । सम्मेलनमा नेपालसहित विश्वका ९० भन्दा धेरै मुलुकका चार सयभन्दा बढी सहभागी हुने आयोजकले जनाएको छ । उद्घाटन सत्र १८ जेठमा भारत मण्डपम् नयाँदिल्लीमा आयोजना हुनेछ । प्राविधिक सत्रहरू भने होटेल ताज प्यालेसमा हुने आयोजकले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले परराष्ट्रमन्त्री खनालको भ्रमणबारे आफूसँग जानकारी नभएको प्रतिक्रिया दिए । परराष्ट्रको दक्षिण एसिया महाशाखा तथा नयाँदिल्लीस्थित नेपाली दूतावासले भ्रमणको तयारी गरिरहेको दुवैतर्फका कूटनीतिक अधिकारीले जानकारी दिए ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग पनि भेटवार्ता गर्ने तयारी छ । नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनाल र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता गराउन पहल भइरहेको पनि कूटनीतिक स्रोतले बतायो । परराष्ट्रमन्त्री खनाल र जयशंकरबिच यसअघि मौरिससमा भेटवार्ता भएको थियो । उनीहरूको सहमतिअनुसार वैशाख अन्तिम साता भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल भ्रमण गर्ने तय थियो । तर, मिश्रीको नेपाल भ्रमण हुन सकेन ।
परराष्ट्रमन्त्री खनालको भ्रमणपछि भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका लागि तयारी हुनेछ । नेपालबाट प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण अनिश्चित भएको छ । भारतबाट विदेशमन्त्रीको नेपाल भ्रमण तथा नेपाल–भारत संयुक्त आयोगको पनि तयारी भइरहेको छ ।