लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको आकर्षण देखिएको छ । मागभन्दा अत्यधिक आवेदन परेपछि बुधबारदेखि योजनाको एकाइ बिक्री निर्धारित समयअघि नै बन्द गरिएको कम्पनीले जनाएको छ ।
लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल योजना व्यवस्थापक रहेको यस बन्दमुखी सामूहिक लगानी योजनाको १२ करोड एकाइ ३० वैशाखदेखि सार्वजनिक निष्कासन खुला गरिएको थियो । तर, बिक्री खुला भएको ६ कार्यदिनभित्रै डेढ अर्ब रुपैयाँभन्दा बढी आवेदन प्राप्त भएपछि आवेदन प्रक्रिया बन्द गरिएको हो ।
योजनाको कुल निष्कासनमध्ये बिज पुँजीबापत एक करोड ८० लाख एकाइ लक्ष्मी सन्राइज बैंकलाई सुरक्षित गरी बाँकी १० करोड २० लाख एकाइ सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिएको थियो । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड २० लाख एकाइसम्म आवेदन दिन सक्ने व्यवस्था थियो ।