वनको जग्गामा अवैध खानी सञ्चालन
निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मुकेश भनिने रामजी पन्तविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अवैध तवरले क्रस उद्योग सञ्चालन गरेको पाइएपछि पन्तसहित शान्ति लामा र शंकरमान लामाविरुद्ध जिल्ला अदालत, काभ्रेले पक्राउ पुर्जी जारी गरेको हो । उनीहरू हेन्जेन दोर्जे कम्पनीका सञ्चालक हुन् । उनहरूको कम्पनीले काभ्रेको तेमाल गाउँपालिका– १ को खानीखोला दारघारी खटभौले दोभानस्थित १७ हजार ४३०.४९ क्षेत्रफल जग्गामा क्रसर उद्योग सञ्चालन गरिरहेको छ । डिभिजन वन कार्यालय, काभ्रेका अनुसार क्रसरले वन क्षेत्रको जग्गा अतिक्रमण गरेको छ । सोही कारण उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए ।
‘हेन्जेन दोर्जे कम्पनीबाट सञ्चालिन क्रसर उद्योगले वनको जग्गा अवैध तवरले उत्खनन गरेको भेटियो । यस सम्बन्धमा सबडिभिजन वन कार्यालय, नमबुद्धले समिति नै गठन गरेर अध्ययन गरेको थियो । सोही अध्ययनपछि केही कैफियत देखिएपछि पक्राउ पुर्जी जारी भएको हो,’ थापाले भने ।
यसअघि हेन्जेनका लेखापाल किरण लामा ब्लोन पक्राउ परेका थिए । उनकै बयानका आधारमा वनले पन्तसहित शान्ति र शंकरमानविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसलगत्तै उनीहरूलाई पक्राउ गर्न वनले जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई पत्राचार गरेको थियो । तर, जिप्रका काभ्रेले उनीहरूलाई हालसम्म पक्राउ गरेको छैन । वन कार्यालयका प्रमुख थापाले उनीहरू हालसम्म पक्राउ नपरेको, तर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारीमा रहेको बताए । ‘उहाँको क्रसर उद्योगले वन अतिक्रमण तथा वन पैदावार होनि–नोक्सानी गरेको पाइयो । त्यसो हुँदा अदालतबाट उहाँहरूविरुद्ध पक्राउ अनुमति लिएर आयौँ । त्यसलगत्तै उहाँहरूलाई पक्राउ गर्ने जिप्रका काभ्रेमा पत्राचार गरेका हौँ । तर, जिप्रकाले हालसम्म पक्राउ गरेजस्तो लाग्दैन,’ उनले भने ।
तेमाल गाउँपालिका– १ का स्थानीयका अनुसार क्रसर उद्योगले पासेपा सल्लेनीघारी वन उपभोक्ता समितिको वनसमेत अतिक्रमण गरेको छ । क्रसरका कारण खानेपानीको मुहान पनि अतिक्रमण भएको छ । क्रसरका कारण गाउँस्थित चार सय घरधुरी प्रभावित बनेका छन् । गाउँ आउजाउ गर्ने सडक बिग्रिएको छ । क्रसर हुँदै बग्ने झिकु खोला अतिक्रम भएको छ । यो तथ्यलाई गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले समेत स्वीकार गरे । ‘विवाद भएपछि वनले घटनाको अनुसन्धान गर्यो । उत्खनन गरिएका जग्गाको नापजाँच भयो । यसक्रममा क्रसर उद्योगले सार्वजनिक जग्गा मिचेको नै देखिन्छ । विशेषगरी उहाँहरूको मेसिनको अधिकांश हिस्सा सार्वजनिक जग्गामा रहेको देखिन्छ । उत्खनन पनि भएको छ ।