सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। सुरुको चरणमा तीन सहकारीका ३७८ बचतकर्ताको १३ लाख ९९ हजार रुपैयाँ फिर्ता गरिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार पहिलो चरणमा १० हजार रुपैयाँभन्दा मुनिका बचतकर्ताको रकम फिर्ता सुरु गरिएको हो।
समस्याग्रस्त २३ सहकारीमध्ये यस्ता बचतकर्ताको संख्या मात्रै ६ हजारको हाराहारीमा छ। बचत रकम फिर्ता गर्ने काम अब निरन्तर चल्ने समितिका सदस्य सचिव रविन ढकालले बताए।
उनले भने, ‘समस्याग्रस्त घोषणा भएको सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु भएको छ। पहिलो चरणमा १० हजारभन्दा मुनिका बचतकर्ताको रकम फिर्ता गर्नेछौँ। उनीहरूको संख्या करिब ६ हजारको हाराहारीमा होला। त्यो सकिनासाथ अन्य बचतकर्ताको रकम फिर्ता सुरु हुनेछ।’