मदुरोको कब्जापछि चीनतर्फ ढल्किएको भेनेजुएला

मदुरोकालीन राजनीतिक बन्दीलाई आममाफी दिन आलटाल गरेपछि ट्रम्प प्रशासनले रोड्रिगेज सरकारलाई निगरानी गरिरहेको छ

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

अमेरिकी सेनाले भेनेजुएलाका बहालवाला राष्ट्रपति निकोलस मदुरोलाई निवासबाट नियन्त्रणमा लिएको पनि दश महिना बितिसकेको छ । अमेरिकी सेनाले मदुरोलाई थुतेर लगेपछि छिट्टै राष्ट्रपति बनेकी तत्कालीन उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी संरक्षणमा समाजवाद अंगीकार गर्दै आफ्नो देशको प्रयोगलाई उल्ट्याउने प्रक्रिया सुरु गरेकी छिन् । भेनेजुएलाको समाजवादतर्फको यात्रा ह्युगो चाभेजको नेतृत्वमा सुरु भयो ।

सन् १९९९ मा पदभार ग्रहण गरेपछि चाभेजले व्यापक राष्ट्रियकरण, राज्यको नेतृत्वमा तेलको पुनर्वितरण र सामाजिक खर्च बढाउने कार्यक्रम सुरु गरे । अनि चाभेजले यस प्रक्रियालाई बोलिभियाली क्रान्ति भने । २०१३ मा चाभेजको मृत्युपछि मदुरोले राष्ट्रपतिको पदभार सम्हाले । अनि सोही समयदेखि नै उनको प्रशासनले आधुनिक इतिहासकै सबैभन्दा गम्भीर आर्थिक गिरावटको सामना गर्यो । साथै, मदुरो प्रशासनले लोकतान्त्रिक नियन्त्रण र सन्तुलनलाई पनि भत्कायो ।

क्रान्तिकारी शासन व्यवस्थाका लागि वैचारिक संशोधन एक खतरनाक क्षण हो । प्रमुख नीतिगत निर्णायकलाई नेतृत्व आवश्यक पर्छ । विश्वसनीय र क्षमतावान् नेतृत्वको अभावमा निर्णायकले अधिनायकवादी बन्ने जोखिम मोल्छन् । सोभियत संघ सम्भवतः यसको सबैभन्दा गतिलो उदाहरण हो । अभिव्यक्ति र भेला हुने नयाँ स्वतन्त्रताअन्तर्गत आर्थिक गुनासोको भारमा संघ सन् १९९१ मा पतन भयो । यस्तै नियतिबाट बच्न उत्सुक चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले त्यसपछिको दशकमा सोभियत संघको पतनको अध्ययन गर्यो । यसले निष्कर्ष निकाल्यो कि सोभियत संघले एकैसाथ आर्थिक र राजनीतिक खुलापनजस्तो गलत गणना गर्यो ।

भेनेजुएलामा राष्ट्रपति रोड्रिगेजले चीनको दृष्टिकोण पछ्याइरहेको देखिन्छ । उनले आर्थिक उदारीकरणलाई प्राथमिकता दिँदै देशभित्रको राजनीतिक अवस्थामाथि कडा नियन्त्रण राखेकी छिन् । अमेरिकी अधिकारीको स्वीकृत मार्गदर्शनमा रोड्रिगेजले मदुरोको शासनका केही तत्व उजागर गरेकी छिन् । लामो समयदेखि सैन्य व्यक्तित्व र स्वार्थले प्रभुत्व जमाएको प्रशासनमा ३२ पदमध्ये तेह्रवटा फेरबदल गरिएको छ ।

यद्यपि, मदुरो शासन कायम राख्ने देशका सशस्त्र सेनाका धेरै प्रमुख शक्ति (पावर ब्रोकर) अहिले सरकारमा छन् । यसमा आन्तरिक मन्त्री डिओस्डाडो काबेलो र मार्चमा रक्षामन्त्रीको पदबाट बर्खास्त भएपछि फेरि कृषिमन्त्री नियुक्त भएका भ्लादिमिर पाद्रिनो लोपेज समावेश छन् । यिनीहरू राष्ट्रपति रोड्रिगेजको पछि लागेका छन् । एकपछि अर्का अमेरिकी राष्ट्रपतिहरूले रोड्रिगेजविरुद्धजस्तै उनीहरूविरुद्ध पनि प्रतिबन्ध, पुरस्कार र गिरफ्तारी वारेन्ट जारी गरेका छन् । यद्यपि, अहिले भने रोड्रिगेजविरुद्ध अमेरिकी वारेन्ट खारेज गरिएको छ । राज्य र सरकारको सम्पूर्ण संयन्त्र सत्तारुढ भेनेजुएला युनाइटेड सोसलिस्ट पार्टी (पिएसयुभी) को हातमा छ । यसमा नेसनल एसेम्ब्ली, सर्वोच्च अदालत, राष्ट्रिय निर्वाचन प्रशासन, प्रहरी र सेना समावेश छन् । देशको २४ राज्यमध्ये २३ मा पिएसयुभिनिकट गभर्नर छन् ।

भेनेजुएलाले चीनको दृष्टिकोण पछ्याइरहेको देखिन्छ, आर्थिक उदारीकरणलाई प्राथमिकता दिँदै राष्ट्रपति रोड्रिगेजले राजनीतिक अवस्थामाथि कडा नियन्त्रण राखेकी छिन्

भेनेजुएलामा ताजा राष्ट्रपति चुनावका लागि विपक्षी नेताले आह्वान गरेका छन् । उनीहरूको मागका बाबजुद ट्रम्प प्रशासन र रोड्रिगेजले अहिलेसम्म निर्वाचनका लागि प्रतिबद्धता जनाउन सकेका छैनन् । मदुरोकालीन राजनीतिक बन्दीलाई आममाफी दिने प्रगति पनि सुस्त छ । यिनै कारणले ट्रम्प प्रशासनले रोड्रिगेज सरकारलाई निगरानी गरिरहेको छ । मदुरोले आफ्ना विरोधीलाई फसाउन विभिन्न मुद्दा लगाएर थुनामा राखेको विपक्षीले आरोप लगाएका छन् । र, अमेरिकालगायत पश्चिमा देशले उनीहरूलाई रोड्रिगेज सरकारले निःसर्त रिहा गर्नुपर्ने माग गर्दै आएका छन् । फेब्रुअरीमा आममाफी कानुन पारित भएपछि दुई हजार २०० भन्दा बढी मानिसलाई जेलबाट रिहा गरिएको थियो र अन्य कानुनी अड्चन हटाइएको थियो, तर राजनीतिक बन्दीहरूको रिहाइमा कमी आएको छ । चार सयभन्दा बढी मानिस अझै पनि जेलमा छन् । आममाफी दिने कानुन संशोधनको प्रक्रिया बढाउन बाँकी छ ।

रोड्रिगेजले आर्थिक क्षेत्रमा सुधार तीव्र गतिमा कार्यान्वयन गरेकी छिन् । चाभेजको राष्ट्रियकरण अभियानलाई उल्ट्याइएको छ । नयाँ आर्थिक नीतिले अर्थतन्त्रका प्रमुख क्षेत्रमा निजी लगानीका लागि पुनः ढोका खोलेको छ । यसमा हाइड्रोकार्बन र खानी क्षेत्र समावेश छन् । हालै अनावरण गरिएको सार्वजनिक सम्पत्ति मूल्यांकन आयोगले कृषि, उत्पादन र पूर्वाधारजस्ता अन्य आर्थिक क्षेत्रमा राज्य स्वामित्वको लेखा परीक्षण गर्नेछ । निजी क्षेत्रलाई बिक्रीको अपेक्षा गरिएको छ । लगानीकर्ताका लागि अनुकूल सर्त र अन्य विश्वास निर्माण उपायमार्फत पिएसयुभी पार्टीको अनुशासन र राजनीतिक प्रभुत्वलाई यहाँ राम्रोसँग प्रयोग गरिएको छ । यसमा लामो समयदेखि कुख्यात रूपमा अप्रत्याशित आर्थिक वातावरणमा कानुनी सुनिश्चितता प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय मध्यस्थतामा पहुँच समावेश छ । यी उपायले लगानीलाई प्रोत्साहन गर्छन् कि गर्दैनन् भन्ने कुरा आगामी महिना स्पष्ट हुनेछ ।

रोड्रिगेजले भेनेजुएलालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) मा फिर्ता ल्याउने निर्णय पनि गरेकी छिन्, जसले २०१९ मा मदुरो सरकारलाई मान्यता दिन बन्द गरेपछि सुरु भएको निलम्बन अन्त्य गरेको छ । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले रोड्रिगेजसँग महत्वपूर्ण कुराकानी भएको रिपोर्ट गरेकी छिन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेजले ‘महान् काम’ गरेकोमा प्रशंसा गरेका छन् । उनले भनेका छन् कि उनी अमेरिकी प्रतिनिधिसँग राम्रोसँग काम गरिरहेकी छिन् । तर, स्वदेशमा केही विरोधीले उनलाई अमेरिकाको कठपुतली भएको आरोप लगाएका छन् । रोड्रिगेजका लागि धेरै चुनौती छन् । सरकारको विरोधमा प्रदर्शन पनि सुरु भएका छन् । छोटो अवधिमा विरोध प्रदर्शनको वास्तविक जोखिम छ । भेनेजुएला राजनीतिक अस्थिरतामा छ, जहाँ न्याय र लोकतन्त्रप्रति निराशा बढ्दो छ ।

आजसम्म प्रदर्शन नभएका कारण नेतृत्वको अभाव हो । जुलाई २०२४ को राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्नबाट मदुरो सरकारले प्रतिबन्ध लगाएकी विपक्षी दलकी नेतृ मारिया कोरिना माचाडो देश फर्किएपछि यो परिवर्तन हुने सम्भावना छ । माचाडोले २०२६ अन्त्यतिर भेनेजुएला फर्कने अपेक्षा गरेको बताएकी छिन् । धेरैले मदुरोलाई नियन्त्रणमा लिएपछि रिक्त राष्ट्रपति पदमा माचाडोलाई पुर्याइने अपेक्षा गरेका थिए । तर, ट्रम्पले उनलाई भेनेजुएलाको अर्का नेताको रूपमा समर्थन गर्न अस्वीकार गरे । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको उनको बलियो मित्रताका बाबजुद माचाडो अझै अमेरिकी घेराबन्दीमा छिन् । ट्रम्पले उनलाई अझै पूर्ण रूपमा विश्वास गर्न सकेका छैनन् ।

हालै युरोपको भ्रमणमा रहेकी नवउदारवादी माचाडोले रोड्रिगेजले ल्याएको आर्थिक परिवर्तनको समर्थन गरिनन् । बरु उनले भेनेजुएलामा राजनीतिक सुधारको आवश्यकतामा जोड दिएकी छिन्, साथै अघिल्ला सरकारको भ्रष्टाचार र दुव्र्यवहारका लागि जवाफदेहिता र न्यायको माग पनि गरेकी छिन् ।अर्को, दीर्घकालीन समस्या भेनेजुएलामा देखा परिरहेको राजनीतिक अर्थतन्त्रसँग सम्बन्धित छ । आर्थिक परिवर्तन देशको हाइड्रोकार्बन र खनिज स्रोत निकाल्न र लगानीकर्ताको चासो जगाउन डिजाइन गरिएको हो । यसले भेनेजुएलाको ऐतिहासिक निर्भरतालाई पुनस्र्थापित गर्नेछ । यस्तो निर्भरता १९७० को दशकदेखि भेनेजुएलाको अस्थिरताको आधारभूत कारक रहेको छ र यो बोलिभेरियाली क्रान्तिले अन्त्य गर्ने वाचा गरेको कुरा हो । 
– कन्भर्सेसनबाट
 

सुझावित समाचार