साबिक विजेता रोयल च्यालेन्जर्स बेंग्लोर १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बेंग्लोरले धर्मशाला मैदानमा आइतबार पन्जाब किंग्सलाई २३ रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको हो । लगातार ६ खेल गुमाउँदा पन्जाबको प्लेअफको सम्भावना कमजोर बनेको छ । बेंग्लोरले १३ खेलबाट सर्वाधिक १८ अंक बटुलेको छ । पन्जाबले समान खेलबाट १३ अंक जोडेको छ । बेंग्लोरले नौ जित र चार हार सामना गरेको छ । पन्जाबले १३ खेलमा समान ६ जित र हार नतिजा निकालेको छ ।
पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा चार विकेट गुमाएर २२२ रन बनायो । प्रत्युत्तरमा पन्जाबले २० ओभरमा आठ विकेटको नोक्सानीमा १९९ रन जोड्यो । बेंग्लोरका भुवनेश्वर कुमारले ३८ रनमा दुई विकेट, रसिख सलामले ३६ रनमा तीन तथा रामारियो सेफर्डले आठ रनमा एक विकेट लिएका थिए । लक्ष्य पछ्याएको इनिङ्समा पन्जाबको सुरुवात निकै दयनीय भएको थियो । इनिङ्सको तेस्रो बलमै पन्जाबले प्रियांश आर्याको विकेट गुमाएको थियो । पन्जाबले ७.३ ओभरमा चार विकेट गुमाएर ६२ रन बनाएको थियो । कप्तान श्रेयश अयरले १ रन, प्रियांश शून्य तथा प्रभासिमरन सिंहले २ रन बनाएर आफ्नो विकेट गुमाएका थिए । सुरुवात कमजोर गरेको पन्जाबले मध्य तथा पुछारबाट गतिलो साथ पाउँदा बेंग्लारलाई केही समय दबाबमा राखेको थियो ।
कुपर कोनोलीले २२ बलमा ३७ तथा सूर्यांश सेडले ३५ रन जोड्दा १०.५ ओभरमा पाँच विकेटको क्षतिमा ९३ रन बनाएको थियो । त्यसपछि मार्कोस स्टोनिसले २५ बलमा ३७ तथा शशांक सिंहले २७ बलमा ५६ रनको योगदान दिँदा पन्जाब १६.१ ओभरमा १६०/६ को स्थितिमा पुगेको थियो । मार्कोसले २५ बलमा पाँच चौका तथा शशांकले २७ बलमा समान चार छक्का र चौका प्रहार गरेका थिए । ओमाजीले १० बलमा १४ रन जोडेका थिए ।
बेंग्लोरको आक्रामक ब्याटिङ
धर्मशालामा पहिलो ब्याटिङ गरेको बेंग्लोरको सुरुवात कमजोर भयो । तर त्यसपछिका विकेटका लागि उत्कृष्ट साझेदार हुँदा पन्जाबले बलियो लक्ष्य पाएको हो । ज्याकोब वेथली इनिङ्सको २.२ ओभरमा ११ रनमा आउट भए । विराट कोहली र देवदत्त पडिकालले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई ९७–२ को स्थितिमा राखे । देवदत्तले २५ बलमा तीन छक्का र चार चौका प्रहार गरी ४५ रन बनाएका थिए ।
कोहलीले वेकेटस अयरसँग तेस्रो विकेटका लागि ६० रनको साझेदारी गर्दै टोलीलाई १४.६ ओभरमा १५७–३ को बलियो स्थितिमा राखे । कोहलीले ३७ बलमा चार चौका र तीन छक्का प्रहार गरी ५८ रन बनाए । त्यसपछि अयरले ४० बलमा आठ चौका र चार छक्काको सहयोगमा ७३ रनको योगदान दिए । उनले टिम डेभिडसँग ६५ रनको नटआउट साझेदारी गर्दै टोलीलाई २२२ रनको योगफलमा पु र्याए । टिमले १२ बलमा समान दुई चौका र छक्का प्रहार गरी २८ रनको योगदान दिए । खेलमा वेकेटस म्यान अफ दी म्याच भए । पन्जाबलाई जितका लागि अन्तिम ओभरमा ३३ रन आवश्यक थियो । निर्णायक ओभरमा पन्जाबले नौ रन मात्र बटुल्यो । यसक्रममा पन्जाबले दुई विकेट गुमाएको थियो । रसिक सलामले अन्तिम ओभरमा दुई विकेट लिए ।