काठमाडौंका नदीकिनार तथा जोखिमयुक्त क्षेत्रका बस्ती हटाउँदा विस्थापित भएका सुकुमवासी परिवारका बालबालिकाले आवासीय सुविधासहित निजी स्कुलमा निःशुल्क पढ्न पाउने भएका छन् । काठमाडौं महानगरपालिका, प्याब्सन, एनप्याब्सन र अभिभावकबिच शुक्रबार १४ जना विद्यार्थी पढाउन सहमति भएको हो ।
सम्झौताअनुसार ती विद्यार्थीले सुप्रिम बोर्डङ स्कुल, केबिसी स्कुल, भ्याली पब्लिक स्कुल, प्रोगेसिभ स्कुल, केएमसी स्कुल, भेनस पब्लिक स्कुल, नेसनल आइडियल बोर्डिङ स्कुल, गेट वे एकेडेमी, नेक्सस इन्टरनेसनल एकेडेमीलगायतमा कक्षा १० सम्म निःशुल्क पढ्न पाउनेछन् ।
काठमाडौं महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले नदीकिनारबाट हटाइएका परिवारका बालबालिकालाई निजी विद्यालयले पढाउनु सकारात्मक रहेको बताइन् । ‘सबै बालबालिकाले सहज रूपमा पढ्न पाउनुपर्छ, तपाईंहरू पढेर असल नागरिक बन्नुपर्छ,’ उनले बालबालिकालाई भनिन्, ‘तपाईंहरू राम्ररी पढ्नुहोस्, राम्रा स्कुलहरूले गुणस्तरीय शिक्षा दिनका लागि गरेको सहयोग स्वागतयोग्य छ ।’
प्याब्सनका काठमाडौं जिल्ला अध्यक्ष नवराज भट्टले निजी स्कुलले बालबालिकाको शिक्षाका लागि सामाजिक उत्तरदायित्वभित्र रहेको काम गरेको बताए । ‘कुनै पनि बालबालिका विद्यालयबाट वञ्चित हुनुहुँदैन, अहिले कतिपय बालबालिकाको पढाइ अन्योलमा छ । त्यस्तै, अन्योलमा रहेका बालबालिकालाई आवासीय सुविधासहित पढाउन लागेका हौँ,’ उनले भने, ‘कक्षा १० सम्म निःशुल्क रूपमा पढाउँछौँ ।’
एनप्याब्सनका अध्यक्ष नवराज पाण्डेले जुन विद्यालयमा विद्यार्थीलाई पठाइएको छ उक्त विद्यार्थीको जिम्मा विद्यालय नै रहेको बताए । आफ्नो नाति निजी स्कुलले आवासीय सुविधासहित पढाउने भएपछि कीर्तिपुरस्थित राधास्वामी आश्रममा बस्दै आएकी गीता लामाले पढाइको चिन्ता हटेको बताइन् । ‘नातिको पढाइ बिग्रन्छ कि भन्ने चिन्ता थियो, तर यहाँहरूले पढाउने भएपछि अब सहज भयो,’ उनले भनिन्, ‘एउटा चिन्ता त कम भयो ।’
राधास्वामी आश्रममै बस्दै आएकी निर्जला पासवासले आफ्ना दुई भाइलाई निजीमा पढाउन पाउँदा खुसी लागेको बताइन् । ‘मैले पनि दुःखसुख गरेर एसइई गरेँ, तर भाइहरूको चिन्ता थियो, अब निजी स्कुलहरूले पढाउने भन्नुभयो, खुसी लागेको छ,’ उनले सुनाइन् ।