राष्ट्रसंघीय बैठकलाई परराष्ट्रमन्त्रीको भिडियो सम्बोधन

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई भिडियो सम्बोधन गरेका छन् । ‘अन्तर्राष्ट्रिय सहयोगमार्फत विश्वव्यापी विकासलाई टेवा : ऊर्जा र आपूर्ति प्रवाहको संरक्षण’ नामक विषयमा परराष्ट्रमन्त्री खनालले साना तथा कम विकसित मुलुकलाई एक्लै नछाड्न विश्व समुदायलाई आह्वान गरेका छन् ।

परिषद्का अध्यक्ष संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा छन् । परराष्ट्रमन्त्री खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रवाहमा आउने अवरोधले गरिबी निवारण, मानव सुरक्षा, र दिगो विकास लक्ष्यप्राप्तिमा गम्भीर खतरा निम्त्याउनेतर्फ ध्यानाकर्षण गराएका छन् । उनले देशहरूबिच आपसी मतभेद सुल्झाउन, विश्वव्यापी शान्ति, स्थिरता र शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न कूटनीति र संवादको माध्यम अपनाउन पनि जोड दिएका छन् । 

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको बडापत्रलगायतका अन्तर्राष्ट्रिय कानुन, ऐक्यबद्धता र साझेदारीमा आधारित बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई सुदृढ पार्नुपर्ने पनि बताए । ‘उत्थानशील पूर्वाधार, नवीकरणीय ऊर्जा, दिगो आपूर्ति प्रणाली र प्राविधिक नवप्रवर्तनमा लगानी बढाउनु आवश्यक छ,’ खनालले भने, ‘सहुलियतपूर्ण वित्तीय व्यवस्थापन, आपत्कालीन तरलता सहयोग र ऋण मिनाहा वा राहतका उपायमार्फत सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेका तथा विशेष परिस्थिति भोगिरहेका राष्ट्रहरू, विशेष गरी नेपालजस्ता अल्पविकसित र भूपरिवेष्टित अल्पविकसित मुलुकहरूलाई सहयोग गर्नुपर्छ ।’

पश्चिम एसियाको द्वन्द्वले नेपाललाई टाढाबाट होइन, नजिकबाटै छोएको पनि परराष्ट्रमन्त्री खनालले बताए । ‘त्यहाँ काम गर्ने २० लाखभन्दा बढी नेपालीका परिवारलाई बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको सुस्तीले जीवनमा प्रत्यक्ष असर परिरहेको छ,’ खनालले भने । उनले संकटमा सबैभन्दा बढी भार पर्ने भनेकै साना र अतिकम विकसित राष्ट्रहरू भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले थपे, ‘यी देशहरूलाई एक्लो नछोडिओस् । यसमा हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी हो ।’

सुझावित समाचार