सर्लाहीको हरिपुरमा इँट्टाको चाङले थिचेर एक भारतीय सहित तीन जनाको ज्यान गएको छ, दुई जना घाइते भएका छन् । शुक्रबार साँझ हरिपुर नगरपालिका–५, मजुर्वामा रहेको कृष्ण इँट्टा उद्योगमा इँट्टाको चाङले थिच्दा एक भारतीय सहित तीन मजदुरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घटनामा परेर थप दुई जना मजदुर घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा भारतको लखिमपुर जिल्ला बस्ने अन्दाजी ३५ वर्षका अङ्गद कुमार, सर्लाहीको गोडैता नगरपालिका–७, रामवन निवासी ५० वर्षका फिताइ मन्सुर र गोडैता नगरपालिका–९, बस्ने ३५ वर्षका शम्भु राउत रहेको प्रहरीले जनाएको छ ।
भट्टामा पाकेर तयार भएको इँट्टा निकाल्ने क्रममा एक्कासी इँट्टाको चाङ लडेको प्रत्यक्षदर्शीको भनाई छ । इँट्टाको चाङले थिचेर गम्भिर भएका उनीहरु तीनैजनालाई उपचारको लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार घटनामा परेर थप दुई जना घाइते भएका छन् ।
उद्धार गरिएका घाइते मध्य मलङ्गवा नगरपालिका–७, बस्ने अन्दाजी ३२ वर्षका तुलसी महतोको सामान्य अवस्थामा प्रादेशिक अस्पताल मलङ्गवामा र ५२ वर्षका सत्य नारायण महतोको स्थानीय स्वास्थ्य संस्था हरिपुरमा उपचार भइरहेको छ । उनीहरु दुवै जनाको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको हो । अहिले प्रहरीले स्काभेटरको सहयोगमा ढलेको इँट्टाको चाङ पन्छाउने काम गरिरहेको छ ।