सरकारले यस वर्षको मनसुनी अवधिमा बाढीपहिरोसहितका विपत्बाट दुई लाख २६ हजार नागरिक प्रभावित हुने आकलन गरेको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ स्वीकृत गरेको हो ।
स्वीकृत कार्ययोजनाअनुसार ५१ हजार ६८६ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन रहेको प्राधिकरणका सहसचिव अमृत श्रेष्ठले बताए । ‘यसअघिका बर्खामा क्षतिको विवरण र जोखिम हेरेर क्षति बढ्ने आकलन गरेका हौँ,’ श्रेष्ठले भने, ‘पूर्वतयारी थाल्न र घटना भइहाले उद्धार, राहत र पुनर्स्थापनामा जोड दिने निर्णय कार्यकारी समितिले गरेको छ ।’ कार्ययोजनाअनुसार प्रभावित जनसंख्यामध्ये १० प्रतिशत अर्थात् कम्तीमा दुई लाख प्रत्यक्ष प्रभावित हुन सक्छन्, जसलाई उद्धार तथा राहत उपलब्ध गराउनुपर्ने हुन सक्नेछ ।
यस वर्ष मनसुनमा कम वर्षा हुने आकलन जल तथा मौसम विज्ञान विभागले गरेपछि प्राधिकरणले विपत्बाट प्रभावित हुनेको जनसंख्या पनि घट्ने आकलन गरेको हो । तर, बर्खामा बाढीपहिरो, चट्याङलगायत घटनाको जोखिम भने रहन्छ । बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालनसम्बन्धी मापदण्ड, २०८३ परिमार्जनसहित स्वीकृत गरेको छ ।
यसले विपत् हुनेबित्तिकै सरकारी संयन्त्रहरू स्वतः परिचालित हुने गरी कानुनी बाटो खोलेको प्राधिकरणले जनाएको छ । साथै, विपत्को समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूपता दिन कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३ पनि स्वीकृत गरिएको छ ।