विपक्षी दलको बहिष्कारकाबिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ। सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित भएको घोषणा सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिन नआएको भन्दै नेपाली कांग्रेस, एमाले, श्रम संस्कृती तथा राप्रपा लगायत दलले भने बैठक बहिष्कार गरेका थिए ।
राष्ट्रियसभाबाट पनि नीति तथा कार्यक्रम बिहीबार नै पारित भइसकेको छ।
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्यूतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो।
मनसुन प्रतिकार्य कार्ययोजना स्वीकृत, साढे दुई लाख जनसंख्या प्रभावित हुने आकलन
पूर्वाधार विकासमन्त्री सुनील लम्सालको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ स्वीकृत गरेको छ।
यस वर्षको मनसुनमा देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुन सक्ने प्रारम्भिक आकलन कार्ययोजनाले गरेको छ।
सार्वजनिक पदाधिकारीले देश-विदेशमा लुकाएको गैरकानुनी सम्पत्तिको सूचना दिन आयोगको आह्वान
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गर्नेहरूको सम्पत्तिबारे सूचना दिन आह्वान गरेको छ। आयोगले बिहीबार सार्वजनिक सुचना प्रकाशन गरी देश विदेशमा लुकाएको सम्पत्तिबारे जानकारी दिन भनेको हो।
आयोगले ०६२/६३ सालयता सार्वजनिक बसेका उच्चपदस्थलाई छानबिन गर्न लागेको हो। आयोगले बिहीबार नै अर्काे सूचना प्रकाशन गरी एक महिनाभित्र सम्पत्ति विवरण भर्न भनेको छ।
इ–बिडिङ ह्याकिङ प्रकरणः पूर्वमन्त्री पाण्डेसँग चार लाख धरौटी माग, नासु देउजा जेल चलान
सार्वजनिक खरिद अनुगमन कार्यालयको सर्भरमा ह्याक गरी सरकारी ठेक्का हत्याएको मुद्दाका एक प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने र अन्य ११ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ।
सो प्रकरणका योजनाकार मानिएका सहरी विकास मन्त्रालयअन्तर्गत कार्यरत कम्पयुटर अपरेटर(नासु) दिवाकर देउजालाई जिल्ला अदालत, काठमाडौंले थुनामा पठाउने आदेश दिएको हो।
यसमा पक्राउ परेका पूर्वमन्त्री तथा राप्रपा नेता विक्रम पाण्डेसँग चार लाख रुपैयाँ धरौटी माग भएको छ।
फरार अभियुक्त पक्राउ गर्न प्रहरीद्वारा कीर्तिपुरमा गोली प्रहार
प्रहरीले गोली प्रहार गरी एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। कीर्तिपुर नगरपालिकाको चोभारनजिकै उपत्यका अपराध अनुसन्धान कार्यालयले एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।
केही दिनअघि कीर्तिपुरमा विपिन घिमिरेको छुरा प्रहार गरी हत्या भएको थियो। सो घटनामा फरार सुजन शाहीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।
ऋण नतिर्ने ओरेन्टलका २८४ ऋणीको तीनपुस्ते विवरण सार्वजनिक
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण चुक्ता गर्ने ओरेन्टल को–अपरेटिभ लिमिटेड सहकारीका ऋणीको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ।
बिहीबार सार्वजनिक गरिएको नामावलीमा २८४ ऋणीको तीनपुस्ते विवरण उल्लेख गरिएको छ। समितिले उनीहरूलाई यथाशीघ्र ऋण चुक्ताका लागि कार्यालयमा सम्पर्क गर्न पनि भनेको छ। यदि समयमा नै ऋण चुक्त नगरे कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सूचनामा भनिएको छ।
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै होः वर्षमान पुन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित रहेको विषयमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण गराएका छन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री हुने बताए । संसद्लाई मर्यादित र व्यवस्थित बनाउने तथा कसरी आफ्नो गन्तव्यमा ठिक ढंगले हिँडाउने भन्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको स्पष्ट गरे। ‘संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री नै हो। बहुमतको नेतृत्व गर्ने संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था संसदीय व्यवस्था हो,’ पुनले भने, ‘त्यस अर्थमा संसद्लाई कसरी व्यवस्थित बनाउने, कसरी मर्यादित बनाउने, कसरी यसलाई आफ्नो गन्तव्यमा ठिक ढंगले हिँडाउने भन्ने जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूकै हुन्छ।’
तीन करोड राजस्व हिनामिनामा संलग्न सहलेखापालाई कारागार चलान गर्न विशेष अदालतको आदेश
झन्डै तीन करोड रुपैयाँ राजस्व हिनामिनाको आरोपमा पक्राउ परेका सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका सहलेखापाल खड्कबहादुर राना जेल चलान भएका छन्। विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रानासहित पाँचजनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जसमध्ये रानालाई एक महिनादेखि थुनामा राखेर अनुसन्धान गरिएको थियो।
राम्रा काममा सहयोग गर्छौँँ, तर प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्छ : अर्जुननरसिंह केसी
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री र मन्त्रीहरू संसद्प्रति जवाफदेही हुनैपर्ने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री नै उपस्थित नभएपछि केसीले असल संसदीय परम्परा कायम राख्न आग्रह गरे।
केसीले भने, ‘संविधानको धारा ७६ को १० मा प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक र व्यक्तिगत रूपले संसद्प्रति जवाफदेही हुने भनेको छ